2026 April 16/ 10:38: 22pm

बनेपा/बनेपामा तेस्रो नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । स्थानीय वरिष्ठ समाजसेवी तथा पूर्व जनप्रतिनिधि उद्धव तौजलेले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गएिको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गर्नु नै राजनीति भएको बताए । 
    सरकारमा गएका दलहरूले सही राजनीति नगर्दा त्यसको परिणाम बहुदल र गणतन्त्रको पैतीस वर्षयता देशलाई २८ अर्ब रुपैयाँ ऋण बोकाए, वर्षको पन्ध्र खर्ब रुपैयाँ भन्दा बढी व्यापार घाटामा पु-याएको सचिव सुवालले बताए । उनले भने ‘देश र जनताको निःस्वार्थ सेवा गर्ने राजनीति साहित्यकार, कलाकार, पत्रकार, खेलाडि, विद्यार्थी र शिक्षक सबैले गर्नु जरूरी छ । वरिष्ठ साहित्यकार मोहन दुवालले तःमुंज्याले भाषा र साहित्यको माध्यमले जनताको भावना उजागर गर्ने कार्य सह्राहनीय भएको बताए । 
    साहित्यकार एवं शिक्षासेवी सूर्यप्रसाद लाकोजूले आफ्नो ठाउँको भाषालाई प्राथमिकतामा राखेर प्रयोगमा ल्याउनुपर्ने बताए । नेपालभाषा साहित्य तःमुंज्याका उपाध्यक्ष कृष्णकुमार वैद्यले साहित्य र कला मनोरञ्जनको साधन मात्र नभएको बताए । साहित्यकार एवं समाजसेवी शमशेरबहादुर न्हुच्छे प्रधानको सभापतित्वमा भएको कार्यक्रममा तःमुंज्याका अध्यक्ष सत्यनारायण श्रेष्ठले धन्यवाद ज्ञापन तथा कोषाध्यक्ष पुण्यशोभा श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सम्मेलनमा कथा विधामा टीकाभक्त भोछिभोया प्रथम, सृष्टि डंगोल दोस्रो, श्रीया पहिजू तेस्रो र एल.के. सुन्दरले सान्त्वना प्राप्त गरेका थिए । कविता विधामा सकुन्तला महर्जन प्रथम, सिद्धिबहादुर कर्माचार्य दोस्रो, उत्सुक विजय तेस्रो र एन्जिलिना बासुकलाले सान्त्वना प्राप्त गरेका थिए । लेख रचनामा हर्षनारायण कर्माचार्य र मणिराज श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरेका थिए । सम्मेलनमा विविध भाषाका साहित्य र सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो ।