2026 April 16/ 10:36: 56pm

बासडोल/बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
कार्यक्रम संस्थाका अध्यक्ष सुरेन्द्र महतको सभापतित्व तथा शेयर सदस्य एवं बनेपा न.पा.वडा नं १२ का वडा अध्यक्ष राम बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि संस्थापक अध्यक्ष नवराज थापा,  सल्लाहकारहरु, संचालक समिति, लेखा सुपरीवेक्षण समिति विभिन्न उपसमिति शेयर सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न गरिएको थियो ।  साधारण सभाले शेयर लाभांश कोषबाट ८.५९ प्रतिशतका दरले लाभांश वितरण र संरक्षित पुँजी फिर्ता कोषबाट ऋण कारोबारका आधारमा ६.०८ प्रतिशत र बचत कारोबार तर्फ २.२५ प्रतिशतका दरले संरक्षित पुँजी फिर्ता गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाले साधारण सभाको अवसर पारी निर्माण गरेको भवनको वडा अध्यक्ष राम बहादुर कुँवरले उद्घाटन गरेका थिए । 
    कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष कल्पना कुँवरले, बार्षिक प्रतिवेदन सचिव रामकृष्ण कुँवरले तथा लेखा सुपरिबेक्षण समितको प्रतिबेदन संयोजक कञ्चन भुजेलले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पूँजी २ करोड ३९ लाख ३३ हजार ५ सय, सदस्य २ हजार ६ सय २२, कूल निक्षेप, १८ करोड ६६ लाख ५२ हजार ६सय ७ र लगानी १८ करोड ७६ लाख ६४ हजार ५ सय ७६ र कूल सम्पत्ति २५ करोड ४३ लाख ७ हजार ७ सय ३६ रुपैयाँ रहेको जनाएको छ । 
    सभामा आर्थिक वर्ष ०८१÷०८२ को प्रमुख आर्थिक सूचकहरु र संस्थाले गर्दै आएका कार्यहरु र केही सुझावहरु प्रस्तुत गरेका थिए । सभामा संस्थाले विभिन्न विद्यामा उत्कृष्ट हुने शेयर सदस्यहरु, ७५ वर्ष उमेर पुरा भएका जेष्ठ सदस्यहरु नगद, खादा र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने संस्थाको भवन निर्माण कम्पनी नीर बहादुर राईलाई समेत सम्मान पत्र र नगदद्वारा सम्मान पनि गरिएको यस्तै साथै भवन निर्माण सहयोगार्थ चन्दा प्रदान गर्ने सदस्यहरुलाई खादा र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । संस्थाको भवन निर्माण लागत १ करोड ३० लाख ७२ हजार ४४ रुपैयाँ रहेकोमा संचालक समिति र लेखा सुपरिवेक्षण समितिले २ लाख ५५ हजार, कर्मचारीहरुले १ लाख ५१ हजार, उपसमितिका सदस्यहरुले ६० हजार ५ सय ५५, सल्लाहाकारबाट २५ हजार र शेयर सदस्यहरुबाट ३५ हजार २५ रुपैयाँ गरी ५ लाख २६ हजार ५ सय ८० रुपैयाँ भवन निर्माण सहयोग रकम संकलन भएको संस्थाका सचिव रामकृष्ण कुँवरले जानकारी दिए । 
    सभामा उत्कृष्ट कर्मचारीका रुपमा विगत १५ वर्ष देखि निरन्तर संस्थामा कार्य गरिरहनु भएका संस्थाका प्रमुख कार्यकारी अधिकृत अनन्तप्रसाद तिमल्सिनालाई प्रशंसा पत्र, खादा र नगदद्वारा सम्मान गरिएको थियो ।