2026 April 16/ 10:23: 47pm

    बनेपा/ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेको पाँचौँ साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन बनेपा बौद्ध वृद्धाश्रममा सम्पन्न भएको छ । ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका अध्यक्ष सिद्दिबहादुर कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष सूर्यप्रसाद श्रेष्ठका् प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रम संचालन ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका सचिव पूर्णबहादुर कर्माचार्यले गरेका थिए । संघका कोषाध्यक्ष दैवज्ञराज कायस्थले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा ज्येष्ठ नागरिक बागमती प्रदेश सदस्य रमेशकाजी श्रेष्ठ तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका सल्लाहकार प्रा.डा.प्रेम शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव पूर्णबहादुर कर्माचार्यले संघको वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । 
    प्रमुख अतिथि सूर्यप्रसाद श्रेष्ठले सभामा सम्बोधन गर्दै ज्येष्ठ नागरिकका संघ–संस्थाहरू वडा तहदेखि क्रमशः संगठित हुँदै जिल्ला, प्रदेश र केन्द्रीय संरचनासम्म विस्तार हुनुपर्ने आवश्यकता औँल्याए । हाल सञ्चालनमा आएको १११५ हटलाइन सेवाबारे जानकारी दिँदै पीडित तथा सेवाग्राहीले नाम गोप्य राखी उजुरी, सूचना तथा गुनासो निःशुल्क रूपमा दिन सक्ने बताए । सेवा प्रभावकारी रूपमा नदिने संघ–संस्था तथा पदाधिकारीविरुद्ध समेत गुनासो गर्न सकिने उनको भनाई थियो । क्रमशः उत्कृष्ट सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य हो उनले भने । संघका अध्यक्ष सिद्दिबहादुर कर्माचार्यले काभ्रे जिल्लामा संघ स्थापना भएदेखि हालसम्म भएका गतिविधि, प्रगति, जिल्लाभर सञ्चालनमा रहेका दिवा सेवा केन्द्र, वृद्धाश्रम तथा स्थानीय सरकारसँगको सहकार्यबारे बताएका थिए । उनले सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरे । 
    कार्यक्रमको बन्द सत्रका लागि ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेको निर्वाचन कार्यक्रमका रूपमा सञ्चालन गरिएको थियो । निर्वाचन अधिकृत सत्यनारायण श्रेष्ठले संघको विधानअनुसार विधिवत् निर्वाचन प्रक्रिया सम्पन्न गरी निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली घोषणा गरेका थिए । निर्विरोध निर्वाचित हुनेहरूमा अध्यक्ष सिद्दिबहादुर कर्माचार्य, उपाध्यक्ष बिजयराम कर्माचार्य, सचिव पूर्णबहादुर कर्माचार्य, कोषाध्यक्ष कैलाश श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरूमा  विश्वनाथ ताम्राकार, रमेशकाजी श्रेष्ठ, रेशमलाल श्रेष्ठ, विनोद वैद्य, बिजया कायस्थ, पुनमाया श्रेष्ठ कर्माचार्य, सानु केसी, सहदीप पलाञ्चोके र वीरबहादुर तामाङ रहेका छन् । निर्वाचन अधिकृत सत्यनारायण श्रेष्ठले निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराउँदै निर्विरोध निर्वाचित भएको प्रमाणपत्रसमेत प्रदान गरेका थिए ।