2026 April 16/ 10:33: 04pm

विकास तिमल्सिना
कुशादेवी, पनौती

    कुशादेवी माध्यमिक विद्यालयले विगतका उपलब्धिको समीक्षा गर्दै भविष्यलाई सुनौलो बनाउने साझा संकल्प गरेको छ । विद्यालयको ६६ औं वार्षिकोत्सवको अवसरमा शिक्षक, विद्यार्थी र अभिभावको उपस्थितिमा शैक्षिक गुणस्तर अभिवृद्धिको लागि सहयात्रा गर्ने संकल्प गरिएको हो ।
    सबैका लागि गुणस्तरीय शिक्षा भन्ने मुल मर्मलाई आत्मसात गर्दै २०१६ सालमा स्थापना भएको कुशादेवी माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव मनाइएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीकृष्ण थापाको सभापतित्वमा भएको कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, पुर्व नगर प्रमुख एवं विद्यालयका सल्लाहकार भीम न्यौपाने, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. निलम कुमार शर्मा, वरिष्ठ मानसिक रोग विशेषज्ञ एवं पूर्व विद्यार्थी डा. अनन्त अधिकारी, पनौती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी लगायत पूर्व शिक्षक, पूर्व विद्यार्थी, समाजसेवी, अभिभावक लगायत स्थानीयको सहभागीता रहेको थियो । सोहि अवसरमा शिक्षासेवी प्रा.डा. निलम कुमार शर्माले अक्षयकोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् ।
    वार्षिकोत्सवको अवसर पारेर वर्षभरी भएका विभिन्न गतिविधिमा विजयी विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड, तेक्वान्दो प्रतियोगितामा जिल्ला प्रथम र नेपाली विषयमा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो । बढुवा हुनुभएका शिक्षकहरु माधवप्रसाद दाहाल, रमेश अधिकारी, गीता अधिकारी र ईश्वरी हुमागाँईलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले वडास्तरसम्मै शिक्षा समिति गठन गरेर शैक्षिक गुणस्तर अभिवृद्धिका लागि काम गरिरहेको बताएका छन् । भौतिक विकास, अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि आर्थिक व्यवस्थापन, शिक्षक तालिम लगायतका काम गरिरहेको उनले बताए । यद्यपी पर्याप्त भने नरहेको उनको भनाई छ । नगरको स्रोतसाधनको अधिकतम प्रयोग गरेर काम गरिरहेको नगर प्रमुख भण्डारीले बताए । उनले पुराना सीप र नयाँ प्रविधि सबै अटाउने गरी पाठ्यक्रम सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।
    प्रधानाध्यापक माधवप्रसाद दाहालले विगतको गौरवशाली उपलब्धिहरुलाई आत्मसात गर्दै वर्तमानलाई समृद्ध र भविष्यलाई सुनौलो बनाउने साझा संकलल्पको अवसरका रुपमा वार्षिकोत्सव एवं अभिभावक दिवस मनाइएको बताए । शिक्षा अक्षर चिनाउने प्रकृया मात्रै नभई जीवन जिउने कला सिकाउने महायात्रा भएको उनको भनाई छ ।शिक्षक ओम वाइवाले समाज रुपान्तरणको प्रमुख माध्यम शिक्षा, विद्यालय र बालबालिका रहेको बताए । यसलाई आत्मसात नगरेसम्म समाज परिवर्तनको कल्पना साकार पार्न असम्भव रहेको बताए । स्थानीय ज्ञान, सीप र प्रविधिलाई अगाडी बढाउने शिक्षक वाइवाले बताए । विद्यालयमा हाल ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीलाई अनुशाशित मर्यादित र शिक्षाप्रति आकर्षित गर्न प्रभावकारी परामर्श, योग ध्यान, जप जस्ता कक्षा सञ्चालन गर्ने, सर्वाङ्गीण विकासका लागि खेल, नृत्य, संगीत जस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रधानाध्यापक दाहालले बताएका छन् ।शतप्रतिशत नतिजाको लागि आवश्यक योजना र रणनीति बनाई कार्यान्वयन गर्ने योजना विद्यालयले बनाएको छ । शिक्षक मनोज अधिकारीद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य कक्षा ६ मा अध्ययनरत छात्रा रक्षा हुमागाँईले राखेकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।