नमोबुद्ध/पर्यटन प्रर्वद्धनका लागि धुलिखेल–नमोबुद्ध–लड्केश्वरसम्म सुन्तला पदयात्रा गरिएको छ । धुलिखेल सरस्वती बजारमा जम्मा भएका होटल ब्यवसायी तथा सरोकारवालाहरु नमोबुद्धसम्मको यात्रा पछि पदयात्राको शुभारम्भ गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु, उपप्रमुख निराजन जंगम तथा होटल ब्यवसायीहरु, कर्मचारीहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । होटल एशोसिएसन काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेलले पदयात्राको उदेश्य र आगामी योजनाका बारेमा जानकारी गराए । नमोबुद्धमा रहेको शान्ति स्तुपामा दीप प्रज्वलन गरिएको छ । सहभागिहरु सबैले दीप प्रज्वलन गरे । पदयात्रामा सहभागिहरुलाई स्वागत गर्दै नमोबुद्धको धार्मिक, सांस्कृतिक र ऐतिहासिक विषयमा जानकारी गराए । लगत्तै पदयात्रा प्रारम्भ गरिएको थियो । नमोबुद्धबाट शुरु भएको पदयात्रा शंखु हुँदै शंखुमा ब्रेकफास्टसँगै स्थानीयहरुसँगको भलाकुसारी गरिएको थियो । वडा अध्यक्ष मोहन लामिछानेले उक्त स्थानमा स्वागत गरेका थिए ।
शंखुमा ब्रेकफास्ट लिएर पदयात्रा शंखुका विभिन्न भागहरु हुँदै बल्थली लड्केश्वर पुगेको थियो । धार्मिक, सांस्कृतिक र प्राकृतिक सुन्दरताको आनन्द लिदै सुन्तला बँगैचाहरु हेर्दै बल्थली पुगेको थियो । वडा अध्यक्ष विपीन लामाले सहभागिहरुलाई स्वागत गर्दै पर्यटन प्रर्वद्धनमा हाईकिङ महत्वपूर्ण हुने भएकाले आवश्यक सहयोग गर्ने बताए । रमणीय ग्रामीण गाउँहरूको आनन्द लिने र रूखहरूबाट ताजा सुन्तलाको स्वाद लिने गरी पदमार्ग तय गरिएको अध्यक्ष प्याकुरेलले जानकारी दिए । पर्यटकहरुका लागि समेत आर्कषक हुने गरी उक्त पदमार्गको रुट तय गरिएको हो ।
धुलिखेल तथा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा आयने पर्यटकहरुका लागि पनि उक्त रुट प्रभावकारी हुने गरी त्यसको प्रचार प्रसारका लागि पदयात्रा आयोजना गरिएको हो । पदयात्राका लागि होटल एशोसिएसन नेपाल, रोटरी क्लव अफ धुलिखेल, एनवाईईएफ, धुलिखेल पर्यटन परिषद् लगायतले आयोजना तथा संयोजन गरेका छन् । लड्केश्वरबाट बल्थली रिसोर्टमा पुगी पदयात्रा समापन हुनेछ । पदयात्रामा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । इतिहास अध्येता मनिष श्रेष्ठले पदयात्राका क्रममा ऐतिहासिक विषयबस्तुका बारेमा जानकारी गराएका थिए ।





