2026 April 16/ 10:22: 54pm

    धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा तीन तहबीच समन्वय र सहजीकरण विषयक अन्तरक्र्रिया सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्र बाँनियाले संघीय शासन प्रणाली सफल बनाउन तीनै तहका सरकारबीच स्पष्ट भूमिका, आपसी विश्वास र प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । उनले संविधानले व्यवस्था गरेको अधिकार र दायित्वको सम्मान गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनु सबै तहको साझा जिम्मेवारी भएको उल्लेख गरे।मुख्यमन्त्री बाँनियाले संघीयतापछिको अभ्यास क्रममा केही नीतिगत र संरचनागत समस्या देखिनु स्वाभाविक भएको बताउँदै ती समस्यालाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्ने धारणा राखे । ‘संघ, प्रदेश र स्थानीय तह एक–अर्काका प्रतिस्पर्धी होइनन्, पूरक हुन्’–उनले भने–‘नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवा स्थानीय तहबाट नै प्रवाह हुने भएकाले स्थानीय सरकारलाई सक्षम, स्रोतसाधनयुक्त र प्रभावकारी बनाउनु जरुरी छ ।’
    बाँनियाले विशेषगरी शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा देखिएका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । स्वास्थ्य सेवामा छैटौँ र चौथो तहका पद हटाइँदा स्थानीय तहमा परेको असरबारे आफू जानकार रहेको बताउँदै मुख्यमन्त्री बाँनियाले संघ सरकारसँग समन्वय गरेर समाधानको पहल भइरहेको जानकारी दिए । ‘जनशक्ति अभावका कारण स्वास्थ्य सेवा प्रभावित हुनु हुँदैन’–उनले भने– ‘प्रदेश सरकार स्थानीय तहको पक्षमा उभिएर आवश्यक समन्वय गर्छ ।’ 
    कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले संघीय संरचनामा सेवा प्रवाह प्रभावकारी बनाउन तीन तहबीच निरन्तर संवाद आवश्यक रहेको बताए । उनले नीति निर्माणका क्रममा स्थानीय तहका व्यवहारिक समस्यालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।कार्यक्रममा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृतहरू तथा सुरक्षा निकायका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिकृत ज्योती सापकोटाले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरूले स्थानीय तहले भोगिरहेका चुनौतीहरूबारे खुला रूपमा धारणा राखेका थिए। उनीहरूले विशेषगरी स्वास्थ्य सेवामा जनशक्ति व्यवस्थापन, बजेट कार्यान्वयन, कानुनी अस्पष्टता तथा अधिकार क्षेत्रका विषयमा समस्या रहेको बताएका थिए।कार्यक्रममा उठाइएका विषयहरूलाई संकलन गरी सम्बन्धित निकायसम्म पु¥याइने र समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले यस्ता अन्तरक्रियाले तीन तहबीचको दूरी घटाउन र सहकार्यलाई मजबुत बनाउन सहयोग पुग्ने बताए । विपद् पछिको पालिका पुनर्निर्माणमा प्रदेश सरकारले ध्यान दिन स्थानीय सरकारका प्रमुखहरुले जोड दिए । 
    बेथान्चोक अध्यक्ष भगवान अधिकारी, महाभारत अध्यक्ष कान्छालाल जिम्बा, खानीखोला अध्यक्ष इन्द्रबहादुर थिङ, चौरीदेउराली अध्यक्ष रेणुका चौलागाई, भुम्लु अध्यक्ष प्रेमबहादुर भुजेल, पाँचखालका प्रमुख महेश खरेल, बनेपा प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, धुलिखेल उपप्रमुख निराजन जंगम, मण्डनदेउपुर प्रमुख टोकबहादुर वाईवा, उपप्रमुख विष्णुमणी नेपाल, नमोबुद्धका प्रमुख कुन्साङ लामा लगायतले स्थानीय सरकारले प्रदेश सरकारका कारण भोगेका समस्याका बारेमा धारणा राखेका थिए ।