2026 April 16/ 10:20: 44pm

    रोशी/ श्री विन्ध्यवासिनी माध्यमिक विद्यालय रोशि ९, रजबासले ५६ औ वार्षिकोत्सब भव्यताका साथ मनाएको छ । 
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद रेग्मीको सभापतित्वमा ५६ औं वार्षिकोत्सव सम्पन्न भएको थियो । वार्षिकोत्सवमा प्रमुख अतिथी रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामा थिए भने विशेष अतिथिमा रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा (ज्वाला), रोशी गाउँपालिका शिक्षा शाखा प्रमुख एवम विद्यालय निरीक्षक ठाकुरप्रसाद दाहाल थिए । नेपाल शिक्षक महासंघको काभ्रे जिल्ला सचिव एवम् मङ्गल जनविजय माविका प्रधानाध्यापक बासु थापा, विभिन्न विद्यालयका वि.व्य.स. अध्यक्ष र प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । सामुहिक १०८ द्विप प्रज्वलन गरि उद्घाटन भएको समारोहमा विद्यालयमा विभिन्न कार्यक्रमहरु सन्चालन गरिएको थियो । 
    जसअन्तरगत विद्यालयमा नव नियुक्त मा.वि. शिक्षक संगीना गोम्जालाई स्वागत र पूर्व शिक्षक तिलकराज न्युरेलाई विदाइ गरिएको छ । त्यसैगरी एसईई २०८१ मा आफ्नो विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल शिक्षक गङ्गाराम राना मगर र संगिता गौतमलाई सम्मान गरिएको थियो । ५६ औं वार्षिकोत्सवकै अवसरमा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गिय तीर्थबहादुर राना मगर स्मृति अक्षय कोष अन्तर्गत ५ जना बिपन्न, टुहुरा तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । त्यसैगरी विद्यालयको लागि जग्गा दान गर्नुहुने रोशी ९, रजबास निवासी जग्गादाता हरिभक्त चितौरे मगरलाई दोसल्ला ओढाई सम्मान पत्रद्वारा सम्मान गरिएको छ । यसका साथै विन्ध्यवासिनी पुस्तकालयको आजीवन सदस्यहरुलाई प्रमाणपत्रको साथ सम्मान गरिएको छ । 
    विद्यालयले मंसीर २८, २९ र पुस १ गते संचालन गरिएको विन्ध्यवासिनी खेलकूद महोत्सवमा सफल र उत्कृष्ट सदन र विद्यार्थीहरुलाई पुरस्कार पनि प्रदान गरिएको छ । सहभागीहरुले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । विद्यालयले जीवनोपयोगी ज्ञान र सिप विकासमा अग्रसर हुँदै पालिकाको मात्र नभई काभ्रेपलान्चोक जिल्लाकै उत्कृष्ट विद्यालय हुन सुझाव दिए । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि आफ्नो तर्फबाट सधैं सहयोग रहने अध्यक्ष दिनेश लामाले बताए । विद्यालयको भौतिक, शैक्षिक विकास र उन्नतिका लागि स्थानीय सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता अध्यक्ष लामाले ब्यक्त गरे । गैह्रसरकारी संस्थासग साझेदारी गरि विद्यालयमा चारकोठे पक्की भवन बन्न लागेको र त्यसको ठेक्काको काम अन्तिम चरणमा पुगेको उनले बताए । कार्यक्रमका सभापति तथा वि.व्य.स. अध्यक्ष डिल्ली प्रसाद रेग्मीले विद्यालयको लागि गाउँपालिकाले गरिरहेको सहयोगको उच्च प्रसंशा गरे । 
    कार्यक्रममा विद्यालयको समग्र पक्षको बारेमा निमित्त प्रधानाध्यापक रबिन मैनालीले जानकारी गराएका थिए । ५६ औं वार्षिकोत्सव कार्यक्रममा विद्यालयका विद्यार्थीहरुबाट विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयको शिक्षक साधुराम राना मगरले गरेका थिए ।