धुलिखेल/सरकारले भदौ २४ गतेको अपराधिक घटनामा संलग्नहरुलाई कारवाही नगर्न निर्देशन दिए लगत्तै देशभर पक्राउ परेका अधिकांश अयिभुक्तहरु धरौटीमा रिहा हुने क्रम शुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्लामा पनि पक्राउ परेका अधिकांश अभियुक्तहरु धरौटीमा रिहा भएका छन् । पछिल्लो समय प्रहरी चौकी पाँचखालमा आगलगी गरी लुटपाट गर्नेहरु धरौटीमा रिहा भएका हुन् ।
‘जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले पाँचखाल प्रहरी चौकीमा आगजनी गरी लुटपाट गर्ने मध्ये पक्राउ परेकाहरुलाई धरौटीमा रिहा गर्ने आदेश भएको छ’–जिल्ला अदालत काभ्रेपलाञ्चोकका सूचना अधिकारी अक्षय दनुवारले भने –‘पाँचखाल प्रहरी चौकी जलाएको अभियोगमा २ जना पक्राउ परेका थिए । दुबै जना धरौटीमा छुटेका छन् । बाँकी एक फरार छन् ।’ उनीहरु मंसिर २५ गते रिहा भएका हुन् । पाँचखाल नगरपालिका वडा नम्वर ६ हाल वडा नम्वर ४ को पुरानोबजारका १९ बर्षिय एलिज श्रेष्ठ र पर्सा जिल्ला पोरिया नगरपालिका वडा नम्वर ९ घर भई पाँचखाल बस्ने १९ बर्षिय अब्दुल कलाम मिँया तेली पक्राउ परेका थिए । भिडियो फुटेजका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरी आपरिधक उपद्रवमा मुद्दा दर्ता गरेको थियो । संलग्न मध्येका एक पाँचखाल १ घर भएका २४ बर्षिय अजय घिसिङ फरार छन् । तोडफोड, आगजनीका कारण प्रहरी चौकी पाँचखालमा ५० लाख १८ हजार क्षति पुगेको छ । प्रहरी कर्मचारीको राशन, लत्ता कपडा, सवारी साधन समेत उनिहरुले जलाएका थिए । यस अघि पनौती २ घर भएकी गोपी थापाको जाहेरीमा पक्राउ परेका धरौटीमा रिहा भएका थिए भने अन्यलाई पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएकाहरु पनि अदालत उपस्थित भएर धरौटीमा रिहा हुन थालेका छन् ।
प्रहरीले हालसम्म इलाका प्रहरी कार्यालय बनेपा र मातहतका प्रहरी चौकीहरुमा भएको आगजनी, लुटपाट, तोडफोडमा संलग्नहरुको पहिचान गरी मुद्दा दर्ता गरेको छ भने पाँचखाल प्रहरी चौकी र अन्य सरकारी संरचनामा तोडफोड र आगजनी विरुद्ध पनि मुद्दा दर्ता गरेको छ । निजी सम्पत्ति तर्फ भने गोपी थापाको मात्रै अभियोगमा मुद्दा दर्ता भएको छ । दर्जनौ मुद्दाहरुका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।





