गाउँपालिकाद्वारा नगद ४० हजार सहित सम्मान
रोशी/रोशी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यलेउत्कृष्ट विद्यार्थी सम्मान गरेको छ ।
रोशी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष मिम बहादुर वाइबा (ज्वाला) विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख तथा गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
एसईई २०८० मा ३.७२ जिपिए सहित गाउँपालिका प्रथम स्थान हासिल गर्ने प्रतिमा यादव र एसईई २०८१ मा ३.६१ जिपिए सहित गाउँपालिका प्रथम स्थान प्राप्त गर्ने निशान खरेललाई नगद ४० हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । दुबै विद्यार्थीलाई ४० हजार नगद प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्मानित दुवै विद्यार्थी श्री मंगल जनविजय माध्यमिक विद्यालय, रोशी–९, मंगलटारका हुन् । लगातार गाउँपालिका प्रथम स्थान हासिल गर्ने विद्यार्थी उत्पादन गर्न सफल उक्त विद्यालयले आफूलाई उत्कृष्ट विद्यालयको रूपमा स्थापित गर्न सफल भएको बताईएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष लामाले शिक्षा क्षेत्रको विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई आगामी दिनमा पनि प्रोत्साहन गरिने बताए । शिक्षक हरिशरण तिमल्सिनाका अनुसार उनिहरु दुबै मेहनती र परिश्रमी विद्यार्थी थिए ।





