पनौती/चौथो काभ्रे किड्स ओलम्पिक विभिन्न खेलकूद तथा सिर्जनात्मक गतिविधिहरु गर्दै सम्पन्न भएको छ ।
राइजिङ स्टार अर्लि चाइल्डहुड डेभलपमेन्टद्वारा आयोजित कार्यक्रम पनौती स्थित मल्पी इन्टरनेशनल स्कुलमा भएको थियो । प्रतियोगितामा १३ विद्यालयका ४ सय ९९ जना विद्यार्थीको सहभागीता रहेको थियो । विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । बालबालिकाको शारिरीक, मानसिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो ।
सहभागी सम्पूर्ण विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र र सम्पूर्ण विद्यालयलाई ट्रफी वितरण गर्दै प्रमुख अतिथी मानन्धरले बालकालिकाको सर्वाङ्गिण विकासको लागि यस्तो प्रतियोगिता जरुरी रहेको बताइन् । बालबालिका सम्बन्धी कार्यक्रमले प्रतिस्पर्धी भावनाको बढ्नुको साथै आत्मविश्वास, अनुशासन, सहकार्यको भावना विकास हुने उनले बताइन् । कार्यक्रममा अध्यक्ष जुनु मानन्धरले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन सविना काररञ्जित र अनिता प्रजापतिले गरेका थिए । बालबालिकाको प्रतिभा पहिचान, विकास र प्रोत्साहनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने आयोजकको भनाई छ । यसअघिको तीनवटा ओलम्पिक बनेपामा आयोजना गरिएका थिए ।





