2026 April 17/ 11:08: 34am

   बनेपा/विविसी क्लव बनेपाले फुटबल खेललाई लोकप्रिय बनाउन तथा स्थानीय खेलाडी उत्पादनको उदेश्यलाई लिएर भोली शुक्रबार देखि बनेपामा ठुलो धनराशीको नाईन ए साईड खुल्ला फुटबल प्रतियोगिता आयोजना गरेको छ । 
    नक आउटका आधारमा खेलाईने उक्त प्रतियोगितामा जिल्लाका १८ तथा उपत्यकाका १८ गरी ३६ टिमले प्रतिस्पर्धा गर्नेछन् । बनेपामा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष महेश कर्माचार्यले प्रतियोगिताको तयारीका सन्र्दभमा जानकारी गराएका थिए । प्रतियोगितामा विजेताले नगद २ लाख सहित ट्रफि प्राप्त गर्नेछन् । नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपाको खेलकुद मैदानमा आयोजना गरिएको उक्त प्रतियोगितामा उप विजेताले १ लाख रुपैया नगद प्राप्त गर्नेछ । प्रतियोगितालाई नेपाल आईसले मुख्य प्रायोजन गरेको छ भने पब्लिक सुत्रधार बहुउदेश्यिय सहकारी तथा माछापुच्छ्रे बहुउदेश्यिय सहकारी संस्था र नरेन्द्र स्टोर सिन्धुलीले सह प्रायोजन गरेका छन् । ११ लाख रुपैया भन्दा धेरै खर्च हुने उक्त प्रतियोगितामा उत्कृष्ट हुने गोलकिपर, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले ५ हजार रुपैया प्राप्त गर्नेछन् । अनुशासित टोलीले १० हजार रुपैया प्राप्त गर्नेछ । हरेक खेलका म्यान अफ दि म्याचलाई नगद २ हजार दिने मुख्य संयोजक मणिकुमार तुम्रोकले जानकारी दिए । २०६७ सालमा स्थापना भएको विविसी क्लवले जिल्लामा हुने फुटबल प्रतियोगिताका अलावा सहिद स्मारक सी डिभिजन लिग छनोटमा परी सहभागिता जनाएको थियो । विविसि क्लवबाट राष्ट्रिय टिममा समेत सहभागि जनाउन खेलाडी उत्पादन गरेका विविसिले ए, बी डिभिजनबाट फुटबल खेलिरहेको जानकारी दिएको छ । 
    प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित सम्मेलनमा अध्यक्ष कर्माचार्यले जिल्लाकै शानका रुपमा रहेको फुटबल खेलका लागि विभिन्न क्षेत्रबाट सहयोग गरिदिन अनुरोध गरे । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले प्रतियोगितासँगै खेलाडीहरुलाई ब्यवसायीक बन्न आग्रह गरे । प्रतियोगिता आगामी जेष्ठ २ गते सम्पन्न हुनेछ । पत्रकार सम्मेलनमा काभ्रे जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष निरोज श्रेष्ठ, उपाध्यक्ष अमित खोजु, कोषाध्यक्ष प्रभात श्रेष्ठ, नेपाल आईसका प्रतिनिधि दिनेश तिमल्सिना, प्रमुख रेफ्रि रोजन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।