2026 April 17/ 12:39: 31am

    पनौती/भालचन्द्र माध्यमिक विद्यालयको ६६ औं जन्मोत्सव विविध कार्यक्रम सहित मनाइएको छ । 
    विद्यालय स्थापनाको ६५ औं वर्ष पूरा गरी ६६ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा विद्यालयको ऐतिहासिक अभिलेखहरु, गतिविधिहरु, लेख रचना समेत समेटेर तयार पारिएको भालचन्द्र दर्पण नामक स्मारिका प्रमुख अतिथी पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले विमोचन गरेका थिए । कार्यक्रममा विभिन्न खेलमा सहभागी विजेता विद्यार्थीलाई पदक वितरण, शिक्षक सम्मान तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरूका साथ जन्मोत्सव मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर तामाङको अध्यक्षता रहेको कार्यक्रममा उपप्रमुख गिता बन्जाराको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रम विद्यालयका शिक्षक भोलानाथ ढुङ्गानाले सन्चालन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद तिमल्सिनाले स्वागत गर्दै भालचन्द्र माविको विगत देखि हालसम्मका गतिविधिहरुको समिक्षा र भावी योजना  प्रस्तुत गरेका थिए ।
    स्मारिका बिमोचन, बिजेता विद्यार्थीलाई ट्रफी वितरण र शिक्षक सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख रामशरण भन्डारीले भालचन्द्र मावि पनौतीकै अब्बल विद्यालय रहेको, विद्यालयले निरन्तर प्रगति गरिरहेको भन्दै विद्यालयको अझै भव्य सफलताको शुभकामना व्यक्त गरेका छन् । उपप्रमुख गिता बन्जाराले विद्यालयको सफलताको लागि सबैलाइ धन्यवाद दिदै नगरपालिकाले शिक्षक दरबन्दी व्यवस्थापन लगायतमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा बालबालिकाले नृत्य लगायत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर तामाङले विद्यालय स्थापनादेखि हालसम्म योगदान गर्ने सबैलाइ धन्यवाद र आभार व्यक्त गरेका छन् ।