बनेपा/नेकपा एमाले काभ्रेले शनिबार कार्तिक २९ गते बनेपामा बृहत्त जनप्रदर्शन गरेको छ । कार्तिक २२ गते वडा स्तरीय, २५ गते पालिका स्तरीय प्रदर्शन गरेको एमालेले २९ गते जिल्ला स्तरीय प्रदर्शन गरेको हो । मंसिर ६ गते राजधानीमा प्रदर्शन गर्दैछ ।
जिल्लामा आयोजित सभालाई पोलिटब्युरो सदस्य गोकुल बास्कोटा लगायतका नेताहरुले सम्बोधन गरेका थिए । अध्यक्ष राजन भुर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय कमिटी र प्रदेश कमिटी तथा जिल्ला र पालिका तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रदर्शन अघि आयोजित पत्रकार सम्मेलन मार्फत एमाले काभ्रेले जनप्रदर्शनमा सहभागि हुन आब्हान गरेको थियो । पार्टीले घोषणा गरेका आन्दोलनका कार्यक्रम अन्तर्गत वडा देखि जिल्ला र मंसिर ६ गते राजधानीमा हुने प्रदर्शनमा समेत सहभागिताका लागि कार्यकर्ताहरुलाई अध्यक्ष भुर्तेलले अनुरोध गरेका थिए । पत्रकार सम्मेलनमा उपाध्यक्ष देवसागर लामा, सचिव राजकुमार सापकोटा, उप–सचिव रत्नकुश रञ्जित र प्रचार विभाग प्रमुख श्याम सापकोटा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै बास्कोटाले एमालेको बटम लाईन भनेकै संसद् पुनःस्र्थापना रहेको बताए । बास्कोटाले भने एमालेले संसद् पुर्नस्थापनाको माग गर्दै वडा, पालिका र जिल्लास्तरीय भेला गरेको बताए । बास्कोटाले एमालेले संसद् विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनस्र्थापनाको आवाज उठाउँदै आएको बताए । बास्कोटाले पाटीको महाधिबेशन नियमित प्रक्रिया भएकाले आफु के हुन्छु भन्दा पनि पार्टी बलियो बनाउन सबै एक हुनुपर्ने बास्कोटाले बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य रेशम लामाले सीमा सम्बन्धी विवाद, राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय कूटनीतिका संवेदनशील मुद्दामा ओलीले सधैँ राष्ट्रिय हित सर्वोपरि राख्ने नीति अपनाउँदै आएको बताए । एमालेले लामो समयदेखि नेपाली राजनीति र विकास प्रक्रियामा स्थिरता कायम गर्दै आएको छ लामाले भने, ‘पार्टीको संगठनात्मक क्षमता, नीति कार्यान्वयन र अनुशासनले यसलाई केवल राजनीतिक संस्था नभई राष्ट्रिय नीतिनिर्माणमा प्रभावशाली शक्तिको रूपमा प्रस्तुत गरेको छ । ओलीको नेतृत्वमा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय दृष्टिकोणले आधुनिक पूर्वाधार, स्वावलम्बी अर्थतन्त्र र राष्ट्रिय एकताको भावना मजबुत बनाएको लामाले बताए ।
कार्यक्रममा केन्द्रिय कमिटी सदस्य नविना लामा, बागमती प्रदेश कमिटी सचिब भक्तकुमारी लामा जिल्ला उपाध्यक्ष देबसागर लामाले मन्तब्य राखेका थिए । कार्यक्रम सञ्चालन सचिब राजकुमार सापकोटाले गरेका थिए । कार्यक्रममा पाटीका विभिन्न तहका नेता कार्यकर्ताहरुको उल्लेख्यीनीय उपस्थिती रहेको थियो ।





