बनेपा/अर्किड ईन्टरनेश्नल एकेडेमीमा खेलकूद सप्ताह २०८२ सम्पन्न भएको छ । हरेक वर्ष सञ्चालन गरिने खेलकूद प्रतियोगिता आगामी शैक्षिक सत्रहरुमा समेत निरन्तरता रहने प्रिन्सिपल अनिता प्रजापतिले बताईन् ।
बालबालिकाहरुलाई शारिरीक, मानसिक, सामाजिक विकासका लागी खेलकूद अनिवार्य रहेको प्रिन्सिपल प्रजापतिले बताईन् । नियमित रुपमा खेलकूदमा सहभागी गराउँदा बालबालिकाहरु सक्रिय, आत्मविश्वासी र अनुशासित हुने प्रिन्सिपल प्रजापतिले बताईन् । प्रविधिमुखी जीवनशैलीका कारण बालबालिकाहरु मोबाईल र कम्प्युटरमा बढी केन्द्रित हुदै गएकाले उनिहरुमा शारिरिक निस्क्रियता र मानसिक तनाब बढ्दै जाने हुँदा विद्यालयले प्रत्येक विद्यार्थीहरुलाई खेलकूदमा सहभागी गराएको र नियमित खेलकूदको अभ्यास गराउँदै आएको प्रजापतिको भनाई थियो ।
प्रतियोगितामा पिजी कक्षा देखी ८ कक्षा सम्मका विद्यार्थीहरुले २ दर्जन भन्दा बढी खेलहरुमा सहभागिता जनाएका थिए । खेलकूद सप्ताहको समापन बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले गरेकी थिईन् । मानन्धरले आफ्नो वडामा १७ वटा विद्यालय रहेको र सबै विद्यालयहरुले उत्कृष्ट नतिजा प्रदान गर्दै आएको बताईन् । शिक्षामा अझै सुधार बाँकी रहेकाले सामुदायीक विद्यालयहरुले धेरै मेहनत गर्नुपर्ने मानन्धरले बताईन् । अर्किड विद्यालय वडाको मात्रै नभई नगरकै नमुना विद्यालयका रुपमा रहेकाले गुणस्तरीयतामा कुनै सम्झौता नगर्न ब्यबस्थापनलाई आग्रह गरेकी थिईन् । कार्यक्रममा सशस्त्र प्रहरीका एसएसपी रविन कर्णजित, प्रिन्सिपल अनिता प्रजापति लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व विद्यालय सञ्चालक समितिका अध्यक्ष पुकार कर्णजितले गरेका थिए ।





