बनेपा/बनेपा नगरपालिका र अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा बीच शारीरिक अपांगता भएका बनेपा नगरपालिकामा स्थायी ठेगाना भएका १८ वर्ष सम्मका बालबालिकाहरुको अवस्था पहिचान, पुनस्र्थापना, उपचार, सहायक सामाग्री वितरण, फिजियोथेरापी तथा शल्यक्रिया गर्ने सम्वन्धी सम्झौता भई कार्यान्वन शुरु भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ का लागि अस्पताल र नगरपालिका बीच सम्झौता भएको हो । १८ वर्ष सम्मका बालबालिकाहरुको पहिचानसँगै उपचारका लागि भएको सम्झौताले शारीरिक अपांगता भएका बालबालिकाहरुको उचित ब्यवस्थापन र मुल प्रवाहीकरणका लागि उनिहरुको अवस्था पहिचान, उपचार, शल्यक्रिया, सहायक सामाग्री वितरण, फिजियोथेरापी जस्ता सेवाहरु अस्पतालले गराउने छ । उपचारका लागि बालबालिकाको जन्म दर्ता प्रमाणपत्रको फोटोकपी, संरक्षक वा अभिभावकको नागरिकताको फोटोकपी, अपांगता परिचयपत्रको फोटोकपी (बनाएको भए मात्र) र अभिभावकको नागरिकतामा स्थायी ठेगाना भन्दा अन्यत्र उल्लेख भएको अवस्थामा बनेपा नगरपालिकाको सम्वन्धित वडा कार्यालयमा बसाईसराई दर्ता गराएको प्रमाणपत्रको फोटोकपी संलग्न गरी वडा कार्यालयबाट सिफारिस गराउनु पर्नेछ । शल्यक्रिया तथा उपचार गर्दा लाग्ने सेवा शुल्क बापत प्रति विरामी एक लाख रुपैया अस्पतालका लागि नगरपालिकाले भुक्तानी गर्ने गरी सम्झौता गरिएको छ । यो सम्झौता २०८२ श्रावण १ गते देखि २०८३ असार मसान्तसम्मका लागि लागु हुने गरी अस्पतालका तर्फबाट प्रशासन संयोजक सुमिता श्रेष्ठ र नगरपालिकाका तर्फबाट नगर प्रमुम शान्तिरत्न शाक्यले हस्ताक्षर गरेका छन् । यो सम्झौता भदौ ४ गते भएको हो ।





