रोशी/रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्ताैलाले जनप्रतिनिधिका रुपमा निर्वाचित भए देखि नै आफुले गाउँपालिकाको साधन प्रयोग नगरेको र अव पनि नगर्ने घोषणा गरेकी छिन् ।
‘म उपाध्यक्ष भए देखि दुई वर्षको अवधीमा अध्यक्षले चढ्ने गरेको गाडी दुई पटक चढेको छु’–उपाध्यक्ष बर्ताैलाले भनिन्–‘बाँकी समयमा पनि म गाडी चढ्ने छैन ।’ इन्धन किन्ने रकमले टुहुरा, अपाङ्ग बालबालिकाहरुको छात्राका लागि सहयोग गर्ने उनले बताईन् । रोशी गाउँपालिकाले इन्धनका लागि उपाध्यक्षलाई २ लाख २५ हजार रकम विनिजयोजन गरेको छ । टुहुरा र अपाङ्ग बालबालिकाहरुका लागि विनियोजन भएको रकममा बढी भएको रकम एम्बुलेन्स खरिद गर्न हस्तान्तरण गरिने उपाध्यक्ष बर्ताैलाले भनिन् । उपाध्यक्ष लक्ष्मी बर्ताैलाका लागि गाडी किन्न भनेर आव २०७५÷७६ छुटाइएको रकम बैशाख १५ गते भएको चौथो गाउँसभाले परिर्वतन गदै गाउँपालिकामा दुई वटा एम्बुलेन्स किन्ने निर्णय गरेको छ । उपाध्यक्ष बर्ताैलाले गाडी किन्नका लागि छुट्याईएको २४ लाख रुपियाँले एम्बुलेन्स किन्ने गरी संशोधन गरिएको बताईन् । ‘जनताको सेवा गर्छु भनेर निर्वाचित भएर आएको हुँ, म हिडेर पनि पुग्न सक्छु तर गर्भवती महिला, जेष्ठ नागरिकलाई एउटा एम्बुलेन्स समेत नहुँदा समय मै उपचार पाउनबाट बञ्चित हुँदै आएको देखेर म आफैले प्रस्ताव पेस गरेको हुँ ।’ उनले गाउँपालिकामा दुई वटा एम्बुलेन्स तत्काल किन्ने गरी संशोधन भएको बताईन् ।
गाउँपालिकाले सुत्केरी महिलालाई पोषिलो खाना, जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा लगायतका कार्यक्रम गदै आइरहेको उपाध्यक्ष बर्ताैलाले बताईन् । एम्बुलेन्स खरिद पश्चात गाउँपालिकाका ३५ हजार जनसंख्या सहित डाँडापारिको महाभारत गाउँपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका, जिल्लाको तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिकाका जनता लाभान्वित हुने उपाध्यक्ष बर्तौलाले जानकारी दिईन् । उपाध्यक्ष बर्तौलाले गाउँपालिकाले इन्धन खर्च बापत छुट्याएको तीन लाख रुपियाँ पनि बालबालिकाको क्षेत्रमा खर्च गर्ने गरी शिक्षा शाखालाई दिएको बताईन् । रोशी गाउँपालिकाका ६९ सामुदायिक बिद्यालयका अनाथ बालबालिका, टुहुरा, अपाङ्गता भएर र गरिबीका कारण पढन नपाएकालाई उक्त रकम दिने उनले बताईन् । शिक्षा शाखा मार्फत तथ्याङ्क संकलन गरी तत्काल रकम बालबालिकालाई दिने उनले बताईन् ।





