2026 April 17/ 12:39: 50pm

    बनेपा/बनेपा नगरपालिका र नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा सूचनाको हक तथा स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
    राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले स्थानीय सरकार सञ्चालनका क्रममा भएका विभिन्न स्थानीय सरकारले गरेका असल अभ्यास र आलोचना भएका विषयमा जानकारी गराएका थिए । सूचनाको हक र सूचनाको हक कार्यान्वयन नगर्दा हुने कानूनी कारवाहीका बारेमा जानकारी गराउँदै जनप्रतिनिधि नम्र हुनु पर्ने, जनताकै पक्षमा उभिनु पर्नेमा जोड दिए । बनेपा नगरपालिकाका जनप्रतिनिधिहरू, काभ्रे जिल्लाका पत्रकारहरू र नगर कार्यपालिकाका कर्मचारीहरूको सहभागीता रहेको उक्त कार्यक्रममा जनप्रतिनिधिहरुले गर्ने कार्यहरुसँगै आचार संहिताका बारेमा जानकारी गराईएको थियो । संविधानले प्रदत्त गरेका अधिकारहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सुझाव दिए । नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले नगरपालिकाले गरेका कार्यका बारेमा मसिनो ढंगले विश्लेषण गरी झक्झक्याउने गरी प्रस्तुती गरी अधिकार, काम र कर्तब्यका बारेमा जानकारी गराउनु भएकोमा प्रमुख आयुक्त बास्कोटालाई धन्यवाद दिएका थिए । उपप्रमुख रेखा सापकोटा दाहालले बनेपा नगरपालिकाले जनताको पक्षमा धेरै कार्य गरिरहेको बताईन् । प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरेले नगरपालिकाले जनताकै लागि विनियोजन गरेका कार्यक्रमहरुलाई कार्यान्वयन गरिरहेको बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले नागरिकहरुको अधिकारका लागि राष्ट्रिय सूचना आयोगले गरेका विभिन्न अभियानसँगै स्थानीय सरकारले गर्नु पर्ने कार्यहरु पारदर्शी बनाउन निरन्तर खबरदारी गरिरहेको बताए ।