2026 April 17/ 02:34: 11am

    पाँचखाल/सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएका खवरहरु सार्वजनिक भईरहँदा काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर २ स्थित अनेकोट घर भएका ९४ बर्षिय दिनानाथ कोईरालाले भने केहि वर्ष देखि सामाजिक सुरक्षा भत्ता सामाजिक कार्यमा खर्च गरिरहनु भएको छ । 
    कोईरालाले आफुले पाउने सामाजिक सुरक्षा भत्ता आफ्ना लागि नभई समुदायको हितमा प्रयोग गरिरहेका छन् । कहिले कुल देबताको मन्दिर निर्माणमा त कहिले मन्दिरका सतल निर्माणका लागि सहयोग गर्दै आएको कोईरालाले बताए । यो वर्ष प्राप्त रकमबाट सार्बजनिक स्थानहरुमा वेन्च तथा  केहि धार्मिक स्थलहरुमा भित्ते घडी राख्ने कार्य गर्ने योजना कोईरालाले सुनाए । केहि रकम जम्मा हुने वित्तिक्कै अब के काम गरौ भनेर छोरा नातिहरु सँग सल्लाह गरेर समुदायमा तत्काल थोरै रकमबाट गर्न सकिने तर त्यसले समुदायमा धेरै फाईदा पुग्ने काम गर्ने उनले बताए । ९४ बर्षको उमेरमा पनि कोईराला स्वस्थ हुनुहन्छ । दैनिक ५÷६ किमी हिडेर घर फर्कनु हुन्छ । 
    पछिल्लो पुस्ताका छोरा नातिहरुलाई आफुले भोगेका र देखेका कुराहरु (ईतिहास) सुनाउन पाउँदा कोईराला खुसी हुनुहुन्छ । उहाँलाई घरायसी हिसाब किताबका लागि क्याल्कुलेटरको आबस्यकता पर्दैन । स्मरणशक्ति अझै उस्तै छ । बिहान ३ बजे देखि उठेर धार्मिक ग्रन्थ अध्यन गर्ने बानी छ । धेरै वर्ष देखि उहाँले त्यो कार्यलाई निरन्तरता दिनु भएको छ । यो उमेरमा पनि आफुलाई ब्यस्त बनाउन धार्मिक, सामाजिक र नियमित हिडाई तथा पुस्ताहरुलाई अनुभव साट्ने कार्यमा सक्रिय कोईरालाको उक्त कार्यलाई स्थानीय र घर परिवारले सहयोग गरिरहेका छन् ।