2026 April 17/ 04:06: 20am

    धुलिखेल/स्थानीय तहले तोकिएको अवधी भित्र जग्गा बर्गिकरण नगर्दा जिल्लाका ११ पालिकाका नागरिकहरु जग्गा कारोवार गर्नबाट बञ्चित भएका छन् । तेमाल र रोशी गाउँपालिकाले भने तोकिएको ढाँचामा जग्गा बर्गिकरण गरिसकेका छन् । दुई पालिका बाहेक अन्य पालिकाका नागरिकहरुले नापी र मालपोत कार्यालयबाट जग्गा कारोवार गर्न आए पनि कित्ताकाट गर्नु पर्ने जग्गाको कारोवार गर्न सकेका छैनन । 
    ‘तेमाल र रोशी गाउँपालिकाले तोकिएको समयमा जग्गा बर्गिकरण सकेका छन् । अन्य पालिकाले असार मसान्तसम्म पनि जग्गा बर्गिकरण गरेनन् । जसका कारण नागरिकहरुले सेवा पाउन सकेका छैनन’– नापी कार्यालय काभ्रेका प्रमुख नापी अधिकृत अशोककुमार भुषालले भने–‘तीन वर्ष देखि स्थानीय तहले गर्नु पर्ने जग्गाको बर्गिकरण नगरेका कारण नागरिकहरुले साउन १ गते देखि जग्गा कित्ताकाट गरी जग्गा कारोवार गर्न पाएका छैनन ।’ 
    स्थानीय तहले भूउपयोग क्षेत्र बर्गिकरणका लागि तोकिएको मापदण्ड पुरा गर्नु पर्नेछ । कृषि क्षेत्र, आवासीय क्षेत्र, ब्यवसायीक क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सिमासार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रको बर्गिकरण गर्नु पर्ने छ । गत वर्ष अन्तिम एक पटकका लागि कृषि र गैह् कृषि क्षेत्रका रुपमा बर्गिकरण गरेर स्थानीय तहले नागरिकहरुलाई सेवा दिएका थिए । २०८२ असार मसान्तसम्म स्थानीय तहले १० वटा क्षेत्रको बर्गिकरण गरिसक्नु पर्नेमा ११ वटा पालिकाले त्यसमा ध्यान नै दिन सकेनन् । रोशी र तेमाल गाउँपालिकाले भने परामर्श सेवा मार्फत बर्गिकरण सकेर बुझाएका कारण सेवा सूचारु भएको हो ।