2026 April 17/ 11:08: 37am

    धुलिखेल/धुलिखेल अस्पतालले जिल्लाका तीन नगरपालिका तथा अस्पतालको सेवा क्षेत्र रहेका सिन्धुपाल्चोक सहितका स्थानमा रहेका नागरिकहरुका लागि मधुमेह सम्वन्धी जनचेतना जगाउँदै मधुमेहका विरामीहरुको पहिचान गर्ने भएको छ । 
    पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगहरुका कारण नागरिकहरुको जीवन प्रभावित भएको निश्कर्ष सहित धुलिखेल अस्पतालले पहिलो चरणमा मधुमेह रोगका बारेमा उक्त अभियान शुरु गर्न लागेको हो । धुलिखेल, बनेपा, पनौतीका साथै अस्पतालका आउटरिच सेन्टरहरुको कार्य क्षेत्र भित्रका नागरिकहरुलाई मधुमेह सम्वन्धी जानकारी गराईन्छ । ति नागरिकहरु मधुमेह जाँच गरिन्छ । मधुमेहको जाँच गरी मधुमेह रहेका नागरिकहरुको इलेक्ट्रोनिक सफ्टवेयर मार्फत धुलिखेल अस्पतालको नेटवर्कमा जोडिन्छ । नगरका सबै स्थानमा पुगेर मधुमेहका बारेमा जानकारी गराए पछि समुदायमा क्लव गठन गरिनेछ । नर्सहरुले नेतृत्व गर्ने उक्त अभियानमा समुदायले नै मधुमेहबाट बच्न र मधुमेह भईसकेका ब्यक्तिहरुले गर्ने ब्यवहार र खानपान तथा रहनसहनका बारेमा जानकारी गराउनेछन् । 
    विश्व मधुमेह संगठनको समेत सहयोग रहने उक्त अभियान अस्पतालले तीन वर्षसम्म निरन्तर गर्नेछ । समुदायमा पुगेर मधुमेहको स्क्रिन गर्ने र क्लव गठन गरी समुदायमा जानकारी गराउने नर्सले जिम्मेवारी लिने छन् । धुलिखेल अस्पतालले त्यसका लागि नर्सहरु तयार गर्दैछ । २५ जना नर्सहरुलाई त्यस सम्वन्धी तालिमको तयारी शुरु गरेको छ । तालिमको कोर्ष तयार हुँदै गरेको विद्याबारिधी अध्ययनरत मधुमेह सम्वन्धी प्रशिक्षण लिएर फर्किएकी पुष्पाञ्जली शाक्यले बताईन् । स्टाप नर्स सेरिना प्रधान र रञ्जना न्यौपानेलाई यस सम्वन्धी प्रशिक्षण दिईएको छ । तीन वटा नगरपालिकामा १५ वटा क्लव बनाईनेछ । तीन नगरपालिकाका १ लाख ७५ हजार नागरिकहरुलाई मधुमेहका बारेमा जानकारी गराईनेछ । प्रारम्भिक अध्ययनले २५ हजार ब्यक्तिमा मधुमेह हुन सक्छ । 
    अस्पतालका डा. विराज कर्माचार्यले धुलिखेल अस्पतालले समुदायसँग मिलेर विभिन्न स्वास्थ्य सेवासँग सम्वन्धित कार्यहरु गर्ने बताए । मधुमेह महामारीका बारेमा अभियान संचालन गरी हुनै नदिन र भएकाहरुलाई कम गराउन अस्पतालले नयाँ कार्यक्रम शुरु गरेको डा. विराज कर्माचार्यले बताए ।