धुलिखेल/मानव अधिकार र पत्रकारीता विषयक अभिमुखिकरण कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । तीन दिनसम्म आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय स्तरका संचारमाध्यममा कार्यरत पत्रकारहरु तथा जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले संवाद नै नगरी मानव अधिकार आयोग ऐन २०४८ शंशोधन गरेकोमा असहमति रहेको बताए । ‘आयोगले संविधान निर्माण भए लगत्तै ऐन संशोधनका लागि सुझाव दिएको थियो’–अध्यक्ष शर्माले भने–‘आयोगले बनाएर पठाएको ऐनको कुनै पनि दफा उल्लेख भएको छैन ।’ सरकारको उक्त कदमका सन्र्दभमा १७ बुँदे असहमति बुझाएको अध्यक्ष शर्माले बताए । मानव अधिकार आयोगका कामहरु देखिनु पर्छ, सुनिनु पर्छ र अनुभुत हुनु पर्ने बताउँदै २०६२÷०६३ सालदेखिका मानव अधिकार आयोगमा रहेका मुद्दाहरुको फछ्र्याैट हुन कठिन रहेको जानकारी दिए ।
तालिममा मानव अधिकार आयोगका सदस्य गोविन्दप्रसाद शर्मा पौड्यालले मानव अधिकारका विषयलाई संचारमाध्यमहरुले प्राथमिकता दिनु पर्ने बताए । मानव अधिकार आयोगका सचिव बेद भट्टराईले मुलुकको समृद्धी र नागरिकहरुको अधिकारका लागि संचारमाध्यम र मानव अधिकार आयोग परिपुरक रहेको बताएका थिए । सहभागिहरुलाई गोविन्द बन्दी, डा. गिता संग्रौला, जेवि विश्वकर्मा, नवराज सापकोटा, राजेश हमाल, गौरी प्रधान, युवराज घिमीरे, डा. विपीन अधिकारी लगायतले विभिन्न विषयमा जानकारी गराएका थिए ।





