2026 April 17/ 11:08: 34am

    धुलिखेल/खानेपानी सुरक्षा योजना लागू गर्न स्थानीय सरकारका प्रतिनिधिहरुले प्रतिवद्धता ब्यक्त गरेका छन् । 
    नेपालको संविधान २०७२ को धारा ३० को उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने उल्लेख भएकाले संविधानको उक्त बुँदा कार्यान्वयन गर्ने उदेश्यले स्थानीय सरकारहरुले प्रतिवद्धता ब्यक्त गरेका हुन् । स्थानीय तह भित्र भएका सम्पूर्ण खानेपानी आयोजना प्रणालीको अभिलेखीकरण नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल ब्यवस्थापन विभागले उपलब्ध गराएको ढाँचा अनुसार अद्यावधीक गर्न स्थानीय सरकार तयार भएका छन् ।  चालु आर्थिक वर्ष भित्रै कम्तिमा २ वटा खानेपानी तथा सरसफाई आयोजनाहरुमा खानेपानी सुरक्षा योजना लागू गरी कार्यान्वयनमा लैजान सहमत भएका छन् भने आगामी तीन वर्षहमा स्थानीय तह भित्रका सम्पूर्ण आयोजनाहरुमा उक्त कार्यक्रम लागु गरिनेछ । 
    त्यस्तै खानेपानी तथा सरसफाई आयोजनाहरुमा खानेपानी सुरक्षा योजना लागु गर्न बजेट ब्यवस्थापन गर्ने, खानेपानी सुरक्षा योजनाका लागि तालिम प्राप्त दक्ष जनशक्तिहरुलाई परिचालन गरिनेछ । चालु आर्थिक वर्ष देखि क्रमिक रुपमा सबै खानेपानी आयोजनाहरुमा खानेपानी सुरक्षा योजना लागू गर्दा क्लोरिनेशन विधि अपनाई क्लोरिनअवशेष परीक्षण गर्ने कार्य अगाडी बढाईनेछ । खानेपानी गुणस्तर कायम गर्न स्वच्छ खानेपानी युक्त समुदाय निर्देशिकालाई अनिवार्य रुपमा लागू गर्दै समुदायमा हरेक दिन सामान्य वा आपतकालिन दुवै अवस्थामा स्वच्छ खानेपानीको सुनिश्चितता गर्दै सुरक्षित खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम गर्न स्थानीय तहहरु सहमत भएका छन् । 
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले उक्त कार्यक्रमलाई जिल्लाका सबै वडाका नागरिकहरुलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन पहल गर्ने बताए । खानेपानी सुरक्षा योजना सम्वन्धी चार दिने प्रशिक्षण कार्यक्रममा सहभागिहरुले स्थानीय तहमा उक्त कार्यक्रम कार्यान्वयन गर्ने बताएका छन् । दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) ले उक्त कार्यक्रम युनिसेफ नेपालको सहयोगमा आयोजना गरेको थियो । संस्थाका कार्यक्रम संयोजक बसन्त कुँवरले दिएको जानकारी अनुसार जिल्लाका सबै तहमा उक्त कार्यक्रम संचालन गरिने कुँवरले बताए । कार्यक्रममा स्थानीय तहका प्रमुख, प्रमुख, प्रवक्ता तथा वातावरण शाखा हेर्ने अधिकृतहरुको सहभागिता रहेको थियो ।