शंखु, धुलिखेल/श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ शनिबारबाट धुलिखेल नगरपालिका १२ शंखुमा शुरु भएको छ । नवाह ज्ञान महायज्ञको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गरेका थिए ।
पण्डित अच्युत भट्टराईद्वारा बाचन गरिने नवाह ज्ञान महायज्ञको उद्घाटन कार्यक्रममा हेलिकप्टरद्वारा जल र पुष्प बर्षा गरिएको थियो । शंखु १२ इँटे सापकोटा गाउँमाथी अवस्थित शैलुङकोट कालीदेवीका काखमा कालिदेवी मन्दिर निर्माणका लागि सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको हो । संगितमय झाँकि सहितको भागवत ज्ञान महायज्ञको पहिलो दिन १ सय ५४ वटा कलश यात्रा गरिएको थियो । प्रत्येक दिन विहान आरती तथा हवन पछि पाठ पारायण गरिनेछ । नयाँ वर्षको अवसर पारी बैशाख १ गते तिलार्पण गरिनेछ भने बैशाख २ गते भागवतको समापन गरिनेछ । समापनको दिन सामुहिक व्रतबन्धको कार्यक्रम समेत आयोजना गरिएको छ । हेलि एभरेष्ट हेलिकप्टर इश्वरी लामिछानेले हेलिकप्टर मार्फत जल र पुष्प बर्षा गर्न सहयोग गरेका थिए ।
शैलुङकोट कालीदेवी मन्दिर संरक्षण समिति तथा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ संयोजक हरिचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले उक्त क्षेत्रको गुरुयोजना निर्माण गरी पर्यटकिय क्षेत्र बनाउन सहयोग गर्ने नगर बताए । उक्त क्षेत्रमा बनभोज पार्क, मन्दिर तथा अन्य भौतिक पूर्वाधार निर्माणका लागि वडा मार्फत गुरु योजना तयार गरी आवश्यक सहयोग गर्ने नगर प्रमुख ब्याञ्जुले बताए । नवाह उद्घाटन कार्यक्रममा वडा अध्यक्ष हर्कबहादुर तामाङले एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका थिए । वडा कार्यालयले गर्नु पर्ने उक्त कार्य नवाह मार्फत मन्दिर तथा उक्त क्षेत्रको विकासका लागि गरिएको अभियानमा सिङ्गो वडाको साथ रहने वडा अध्यक्ष तामाङले बताए । कार्यक्रममा वडा नम्वर ११ का अध्यक्ष विष्णु धिताल, सल्लाहकार सत्यनारायण श्रेष्ठले धार्मिक क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न आवश्यक पहलकदमी गर्नु पर्ने बताएका थिए । नवाह कार्यक्रमका उप संयोजक एवं धुलिखेल नगरपालिकाका न्यायीक समितिका सदस्य मोहन लामिछाने, वडा सदस्य प्रविण सापकोटा, विश्व शान्ति ज्ञान केन्द्रका कल्याण मित्र, ओम शान्ति, अन्य विभिन्न संघ संस्थामा आवद्ध ब्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
मन्दिर निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सहयोग रकम अनुसारको सम्मान गर्ने सल्लाहकार सत्यनारायण श्रेष्ठले जानकारी दिए । उप संयोजक मोहन लामिछानेका अनुसार उक्त क्षेत्रको पर्यटकिय विस्तारका लागि आवश्यक प्रचार प्रसारका लागि नवाह थप महत्वपुर्ण हुने बताए ।





