कथा, निबन्ध र कविता विधामा पहिचान बनाएका विजय सापकोटाको किशोर उपन्यास उडान बजारमा आएको छ । किशोरहरुका लागि पुस्तकको अभाव भइरहेको बेला उडान प्रकाशन भएको छ ।
बाल र किशोर साहित्य लेखनमा पनि औधी रुचि राख्ने सापकोटाको ‘उडान’ उपन्यास अधिकांश नेपाली किशोरहरुका समस्या, भावना र मनोविज्ञानमा आधारित छ । उनीहरुका कतिपय सामाजिक, सांस्कृतिक र शैक्षिक समस्याहरुसित जोडेर यस उपन्यास लेखिएको लेखकले बताएका छन् ।
बढ्दो यौन शोषण र सामाजिक सञ्जालको दुरुपयोगबाट कसरी किशोरहरु प्रताडित छन् ? त्यसका लागि उनीहरु केके कुरामा कसरीकसरी सचेत हुनुपर्छ ? र प्रेम के हो ? भन्ने विषय उपन्यासमा छन् । त्यस्तै उपन्यासले उठान गरेका केही अरु महत्वपूर्ण विषय छन् । आफ्नो काम आफैं गरौं, प्रश्न गरौं, आफ्नो शरीरमाथिको अधिकारप्रति सचेत रहौं भन्ने विषयहरु उपन्यासमा छन् ।





