2026 April 17/ 09:53: 01am

    धुलिखेल/नेपाल पत्रकार महासंघ र गैसस महासंघको आयोजनामा धुलिखेलमा दुई दिने अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अभिमुखिकरण सम्पन्न भएको छ ।
    नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष अशोक ब्याञ्जु, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, गैसस महासंघका अध्यक्ष जिताराम लामा, प्रशिक्षक टंक अर्याल लगायतले स्वतन्त्र अभिब्यक्तिको नीतिगत वकालतका लागि संविधान र अन्र्तराष्ट्रिय कानूनको सन्दर्भमा धारणा राखेका थिए । कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले संविधान अनुसार देश बन्न नसकिरहेको बताए । ‘नागरिकहरुको स्वतन्त्रताका लागि नागरिक संस्थाहरु सक्रिय हुनु पर्छ’–अध्यक्ष ब्याञ्जुले भने–‘संसदमा प्रस्तुत भएका १७ वटा ऐन संविधान अनुसार छैनन्, अब बन्ने कानुनहरु संघात्मक ब्यवस्था अनुसार हुनु पर्छ ।’
    नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्र, अभिब्यक्ति स्वतन्त्रता, पत्रकारहरुको हक हित र स्वतन्त्रता, संचारमाध्यमको हित र नागरिक अधिकारका लागि नागरिक समाजको अगुवा संस्था पत्रकार महासंघ निरन्तर लडिरहने बताए । तीनै तहका कानुनहरु निर्माण हुँदा प्रेस तथा स्वतन्त्रता अभिब्यक्ति कुण्ठित गर्ने खालको हुनु नहुने बताउँदै अध्यक्ष आचार्यले नागरिक अधिकार सुरक्षित गर्न सरकारले अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर्नु पर्ने बताए । महासंघले पत्रकारहरुलाई नियुक्ति लिएर मात्रै संचारमाध्यममा काम गर्न अनुरोध गर्दै आएको भए पनि नियुक्ति र पारिश्रमीक सँग सम्वन्धित ३ सय ६४ वटा उजुरीहरु परेको र ३ सय वटा उजुरीहरु फछ्र्याैट भईसकेको बताए ।
    गैसस महासंघका अध्यक्ष जिताराम लामाले मुलुकको विकास र समृद्धिका लागि गैससहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै मिडिया जनताको आवाज बन्नुपर्ने बताए । नागरिक अधिकारका लागि गैससहरुले खेलेको भूमिकालाई राज्यले नजरअन्दाज गर्न नमिल्ने बताउँदै पछिल्लो समय राज्यले नागरिकका अधिकार कुण्ठित गर्ने खालका गतिविधिहरु गरिरहेको बताए । गोष्ठीमा पत्रकार महासंघका पदाधिकारीहरु, गैसस महासंघका पदाधिकारीहरु सहभागी छन् । अभिब्यक्ति स्वतन्त्रता सम्वन्धी गोष्ठी केन्द्रिय स्तरको धुलिखेलमा आयोजना गरिएको छ । प्रदेश स्तरमा समेत यस्ता कार्यक्रम आयोजना गरिने नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए /