2026 April 17/ 09:54: 09am

    बनेपा/बनेपामा रहेको आभाष साकोसले सेवा केन्द्रहरु विस्तार गरेको छ । बनेपालाई मात्रै कार्य क्षेत्र बनाएर कारोवार गर्दै आएको आभाषले शुक्रबार पनौतीमा र आईतबार भकुण्डेमा सेवा केन्द्र मार्फत कारोवार शुरु गरेको छ ।
    पनौतीमा शुक्रबार आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख भिम न्यौपानेले कारोवारको शुभारम्भ गरेका थिए । कार्यक्रममा नगर प्रमुख न्यौपानेले नगरको विकास र समृद्धिका लागि सहकारीले स्वरोजगार तथा आर्थिक गतिविधि मार्फत आत्मर्निभर हुने कार्यक्रम संचालन गर्न अनुरोध गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेका अध्यक्ष रामहरी केसी, उद्योग बाणिज्य संघ पनौतीका अध्यक्ष भोला थापा, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । सहकारीका अध्यक्ष दिनेशराज कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव प्रकाश कायस्थले संचालन गरेका थिए । यस अघि संस्थाले पनौती क्षेत्रका सदस्यहरुका लागि पनि सेवा दिदै आएको थियो ।
    आईतबार नमोबुद्ध नगरपालिकाको भकुण्डे क्षेत्रमा सेवा केन्द्रको उद्घाटन नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले गरेका छन् । नमोबुद्ध नगरमा सहकारी र वित्तिय कारोवार गर्ने संस्थाहरु विस्तारै खुल्न र फस्टाउन थालेकाले नागरिकहरुको आर्थिक समृद्धि तथा खेतियोग्य र ब्यवसायिक कार्यमा लगानीका लागि सहज भएको बताए । आभाष साकोसले उद्यम र ब्यवसायी बन्न सहयोग पु¥याउनुपर्ने बताउँदै सहकारी अभियानमा स्थानीय सरकारको सहयोग रहने बताए । कार्यक्रममा संस्थाका सल्लाहकार सुरकृष्ण बैद्य, पदाधिकारीहरु, स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु तथा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । सेवा केन्द्र मार्फत सदस्यहरुलाई थप सेवा प्रदान गरिने प्रबन्धक सुवास बैद्यले जानकारी दिए ।