पनौती/पनौती नगरपालिकाले आ.व. २०७५÷०७६ मा गरेका नगरपालिका तथा सम्रग वडागत रुपमा सञ्चालित योजनाहरु लगायत वडा तथा नगरबाट प्रवाहित विभिन्न सेवाहरु एवं सम्पादित कामहरुको बारेमा जनताकै आँगनमा पुगेर गुनासो र सुझाब लिने उदेश्यले जनताको आगँनमा कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार पनौती नगरपालिका वडा नम्वर १ रयालेमा उक्त कार्यक्रमको शुभारम्भ गरिएको थियो । रयालेमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजयराज पौडेलले जानकारी गराएका थिए । नगरपालिकाबाट दिनु पर्ने सेवामा पारदर्शिता छ कि छैन ? भ्रष्टचार भएको छ कि छैन, सेवाग्राहीहरुलाई कर्मचारीहरुले यो वा त्यो बाहनामा दुख दिने काम भएको छ कि छैन, बिकास निर्माणमा कस्तो भैइरहेको छ ? जनताको सुझाव र सल्लाह मागिएको थियो । नगरपालिकाले साउन देखी फागुन सम्म गरेका योजना तथा गतिबिधिका सम्वन्धमा बरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारीले जानकारी गराएका थिए । नगरपालिकाले २३ वटा वोर्ड बैठक, १ सय ४८ वटा निर्णय, ३ वटा कार्यविधि पारित, ४७ वटा योजना सम्पन्न, बसपार्क निर्माण कार्यदल गठन, चक्रपथ निर्माणमा डिपिआर तयार, मापदण्ड विपरीत सञ्चालित १ वटा ढुङ्गाखानी खारेज, नगरपालिकाको आन्तरीक आय १९ करोड ५० लाख ५५ हजार रहेको छ ।
वडा नं १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले वडाको बैठक २५ पटक बसेको, भुकम्पबाट क्षति भएका घरहरु ८० प्रतिशत निर्माण सम्पन्न, आम्दानी ६ लाख ५१ हजार ७ सय १५, निकासा प्राप्त ३४ लाख ७८ हजार ४ सय खर्च २८ लाख ५० हजार वडा स्तरीय योजना १९ र नगर स्तरीय योजना २ वटा रहेकोमा सम्पूर्ण योजना सम्झौता भई निर्माणको अन्तिम चरणमा रहेको, बुद्धिजिबी संघ संस्था भेला, त्रिबर्षिय योजना निर्माण कानुनी क्लिनिक, सामाजिक सुरक्षा भत्ता वितरण, कम्प्युटर तालिम, कृषी वीमा सम्बन्धि कार्यक्रम, पशु स्वास्थ्य शिबिर, भैसी सुत्केरी भत्ता वितरण, माटो जाँच, घाँसको बिउ विजन वितरण, लगायतका कार्यहरु गरेको बताएका थिए ।
कार्यक्रममा नगरमा प्रविधिक विद्यालय सञ्चालन गर्ने भनिएकोमा अहिले सम्म किन अगाडी नबढेको ? नगरस्तरीय अस्पतालको योजना कता पुग्यो ? युवालाई विदेश जानबाट रोक्न नगरको योजना के रहेको छ ? घरेलु महिला हिंसा दिन दिनै बढेको छ नगरले के गरिरहेको छ ? निर्वाचनमा गरेका बाचाहरु कति पुरा भए जस्ता दर्जनौ प्रश्नहरु नगर प्रमुख भिम न्यौपाने र उप प्रमुख गिता बञ्जारालाई नगरवासीहरुले सोधेका थिए । जनताको उत्तर दिदै उप प्रमुख गिता बञ्जाराले महिला तथा बालबालिकाहरुका लागी वडा लक्षित कार्यक्रम गर्न प्रत्येक वडामा २ लाखका दरले रकम बिनियोजित गरिएको वताईन् । महिला हिंसा घटाउन तपाई महिला दिदी बहिनीहरुले नै सहयोग गर्नुपर्ने उनले बताईन् ।
नगर प्रमुख भिम न्यौपानेले निवार्चनका समयमा गरेका सम्पूर्ण काम पुरा हुने बताए । चरणबद्ध रुपमा पुरा हुन्छन् तर जनताले धैर्य गर्नुपर्छ न्यौपानेले भने । जनताको आकांक्षा धैरै रहेकाले विस्तारै विकास निर्माणका कामहरु हुदै गएको उनले प्रस्ट पारे । पर्याप्त जनशक्ति अभाब रहदाँ रहदै पनि धेरै काम भैसकेका छन् उनले भने । नगरमा प्राविधिक शिक्षा, अस्पताल बनाउनका लागि केन्द्र सरकार सँग कुरा भैई रहेकाले चाडै हुने उनले बताए । नगरले गाउँ र सहरमा विकासमा विभेद नगरेको, सबै वडालाई समान रुपमा हेरेको, नगरले बहुबर्षिय योजनाहरुमा लबिङ गरिरहेकाले दीर्घकालीन योजनाहरुलाई प्राथमिकता दिईने नगर प्रमुख न्यौपानेले जानकारी गराए । कार्यक्रममा जनताले सोधेका प्रश्नहरुको विभिन्न शाखा प्रमुखहरुले समेत जिज्ञासा राखेका थिए । कार्यक्रममा नेकपाको तर्फबाट रामचन्द्र सापकोटा, नेपाली कांग्रेसका तिर्थराज सापकोटाले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य वडा सचिव झलक प्रसाद सापकोटाले राखेका थिए भने सञ्चालन प्रदिप सापकोटाले गरेका थिए । सबै वडाहरुमा उक्त कार्यक्रम संचालन गर्ने नगरपालिकाले जानकारी दिएको छ ।





