धुलिखेल/नेपाल पत्रकार महासंघ काभे्र शाखाको आयोजना तथा धुलिखेल नगरपालिकाको समन्वयमा दुई दिने विकास पत्रकारिता सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।
मंगलबार र बुधबार तालिमको आयोजना गरिएको थियो । तालिमको समापन कार्यक्रममा नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा लगायतको सहभागिता थियो । प्रमुख अशोक ब्याञ्जुले नागरिकहरुलाई सुुुसुचित गराउन तालिमले सहजता प्रदान गर्ने बताएका थिए । सकारात्मक सोचबाट अगाडी बढ्न र विकासका कार्यहरुलाई अगाडी बढाउनु पर्ने नगर प्रमुख ब्याञ्जुले बताए । तालिमका सहभागिहरुलाई हौसला दिदै नगर प्रमुख ब्याञ्जुले विकास निर्माणमा निरन्तर लाग्न र त्यहि मार्फत समृद्धीको यात्रा तय गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको बताए । धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्माले तालिमको उद्घाटन गरेकी थिईन् । तालिमको समापन पनि उपप्रमुख विमला शर्माले गरेकी थिईन् । उपप्रमुख शर्माले विकास पत्रकारिता तालिमले स्थानीय सरकारका गतिविधिहरु जनताका बीचमा लैजान सहज हुने बताईन् । सरकारका कामहरुका विषयमा नगरवासिहरुले जान्न पाउने अधिकारको समेत विकास पत्रकारिताले थप सहजता उपलब्ध गराउने बताउँदै उनले जनप्रतिनिधिहरुले बजेट विनियोजन गरे पनि कार्यान्वयनमा आएका जटिलता, स्थानीय सहभागिता र लाभान्वित ब्यक्तिहरुका बारेमा जानकारी हुने बताईन् । तालिमको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले पत्रकारितालाई जिम्मेवार बनाउन जोड दिँदै सामाजिक सञ्जालका विकृतीहरुले सिङ्गो पत्रकारिता पेशा नै बद्नाम भएको बताए । अबको समय आर्थिक समृद्धी र विकासको भएकाले विकास पत्रकारिताले समाजको अग्रगति र स्थानीय क्षेत्रको विकासमा सहयोग पुग्नु पर्ने बताए । प्रविधिको विकास सँगै समृद्धीको युगलाई सहयोग पु¥याउन पत्रकारिताको माध्यम बलियो आधार भएको उनले बताए ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोेतीराम तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष तिमल्सिनाले स्थानीय स्तरमा भएका विकासका गतिविधिहरुलाई सञ्चार माध्यम मार्फत आम नागरिकहरुकोमा पु¥याउन स्थानीय सरकारसँगको समन्वयमा विकास पत्रकारिता सम्वन्धी आधारभुत तालिम शुरु गरिएको बताए । जिल्लामा रहेका १३ वटै स्थानीय सरकारसँग समन्वय गर्दै विकास सम्वन्धी आधारभुत पत्रकारिता तालिम दिने तयारी गरिएको बताउँदै अध्यक्ष तिमल्सिनाले धुलिखेलबाट त्यसको शुरुवात भएको जानकारी दिए । राजधानीबाट नजिक रहेको धुलिखेल पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समृद्ध बन्दै गएकाले अन्य विकासका पुर्वाधारहरुको निर्माणले स्थानीय नागरिहरुको जीवन स्तर उकास्न सूचना र प्रविधिका माध्यमबाट सहयोग पुग्ने बताए । धुलिखेल नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले नगरपालिकाले वडाहरुमा रहेका युवाहरु मार्फत रोजगारको सिर्जना र विकासलाई स्थायीत्व बनाउन नगरपालिकाले विभिन्न तालिमहरु आयोजना गरेको बताए । विकास पत्रकारिता तालिममा धुलिखेल नगरपालिकाका १२ वटा वडाबाट दुई दुई जना सहभागि छन् । सहभागिहरुले वडाहरुमा भएका विकास गतिविधिका बारेमा नागरिकहरुलाई पत्रकारिताको माध्यमबाट कसरी जानकारी गराउन सकिन्छ भन्ने बुझ्न सक्नेछन् ।





