धुलिखेल/धुलिखेल अस्पतालले मस्तिष्क घातबाट अशक्त वालवालिकाको दैनिक जीवन सहज बनाउन निःशुल्क उपचार गर्ने भएको छ ।
नेदरल्याण्डको एपिआरसीको सहयोगमा १० जना अशक्त बालबालिकालाई यो सुविधा दिन लागिएको हो । शारीरिक रुपमा अशक्त वालवालिकाको उपचार पद्दती सम्बन्धी ६ दिने तालिमको उद्घाटन गर्दै काठमाडौ विश्वविद्यालयका स्कुल अफ साईन्सेसका डिन प्रोफेसर डा. राजेन्द्र कोँजुले बालबालिकाहरुमा हुने पक्षघातबाट बचाउने यो महत्वपूर्ण तालिम भएको बताए । १० जना बालबालिकाहरुको दैनिक जीवन सहज बनाउँदा उनिहरुको जीवन तथा अभिभावकहरुको समस्या समेत समाधान हुनेछ । पक्षघातका कारण केहि गर्न नसक्ने अवस्थाका बालबालिकाहरुको दैनिक जीवन सहज हुनेछ ।
अस्पतालका प्रशासकिय निर्देशक डा. रमेश माकजुले धुलिखेल अस्पताल समुदायको रहेकाले समुदायको हित तथा यस्ता बालबालिकाहरुको उपचारका लागि नेदरल्याण्डको एपिआरसी संस्थाले गरेको सहयोगलाई धन्यवाद दिए । अस्पतालका बाल रोग विभागका प्रमुख प्रा.डा. प्रकाश सुन्दर श्रेष्ठ, फिजियोथेरापी एशोसिएसनका अध्यक्ष लक्ष्मण अधिकारी, धुलिखेल अस्पताल फिजियो थेरापी विभागकी विमिका खड्गी, नेदरल्याणडका प्रा.डा युजिन लगायतले पक्षघातबाट बच्चाहरुलाई पार्ने असर, उपचार पछिको अवस्था र अभिभावकहरुको समस्याका बारेमा मन्तब्य राखेका थिए । सोहि अवसरमा नेदरल्याण्डको टिमलाई सम्मान गरिएको थियो । तालिममा नेदरल्याण्डका ४ र नेपालका ५ विशेषज्ञ सहित ९ जनाले तालिम प्रदान गर्नेछन् ।
देशका विभिन्न भागका १० जना मस्तिष्कघात वच्चाहरु उक्त अवधिभर फिजियोथेरापी उपचारमा राखिन तथा शारीरिक सक्षम बनाउने सामाग्री निःशुल्क रुपमा वितरण गरिएको थियो ।





