2026 April 17/ 08:40: 15am

    भकुण्डेवेशी/नेपाल शिक्षक संघ नमोबुद्ध नगर समितिको प्रथम प्रतिनिधिसभा नेपाल शिक्षक संघका ३ नं प्रदेश अध्यक्ष नारायण तिमल्सिनाको प्रमुख आतिथ्यता तथा नमोबुद्ध नगर अध्यक्ष दिनेश अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । 
    कार्यक्रममा शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत, नेपाली कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामा, नेपाल शिक्षक संघ काभ्रेका सचिव शम्भू घिमिरे, नमोबुद्ध नगरपालिका वडा नं ६ का अध्यक्ष कूलप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन नमोबुद्ध नगर अध्यक्ष लक्ष्मी अधिकारी, नेपाली कांग्रेस नमोबुद्ध ८ का सभापति रामेश्वर अधिकारी, नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितिका उपाध्यक्ष विमल खनाल, सचिव रमेशप्रसाद न्यौपाने लगायतले पेशागत हकहितको बारेमा चर्चा गरेका थिए ।
    सभामा प्रतिवेदन पेश गर्दै नगर समिति अध्यक्ष अधिकारीले गैरकानूनी तवरबाट गरिएका सरुवाको विरुद्धमा नगरपालिकाको कार्यालयमा विरोध धर्ना कार्यक्रम गरिएको, शिक्षकका समस्याको बारेमा नगर–प्रमुख र शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको, बालविकास केन्द्रमा कार्यरत शिक्षकको सेवा सुविधा थप गर्न दबाब दिइएको र केही रकम थप गर्न सफल भएको बताए । अपायक सरुवा, सुत्केरी शिक्षिका सरुवा जस्ता स्थानीय तहबाट गरिएको ज्यादती विरुद्ध जिल्ला तथा स्थानीय स्तरबाट समस्या समाधानका लागि ध्यानाकर्षण गराइएको उनले बताए ।