पनौती/पनौती त्रिवेणी सरसफाई नागरिक अभियान शनिबारबाट शुरु भएको छ । पनौती वडा नम्वर ७ मा रहेको त्रिवेणी धाममा आन्तरिक तथा बाह्य भक्तालुहरु स्नान गर्ने स्थान पुण्यमाता खोला, रोशी खोला र लिलावती खोलाको दुषित पानीलाई सफा बनाउने र पनौती नगरलाई नै स्वच्छ बनाउने उद्देश्यले पनौती त्रिवेणी सरसफाई नागरिक अभियान शुरु गरिएको वडा अध्यक्ष रामचन्द्र नास्नानीले बताए ।
अभियानको शुरुवात गर्ने क्रममा पनौती क्षेत्र भित्र रहेका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बाग्मती सरसफाई अभियानका अभियन्ताहरुको उपस्थितिमा शुरु भएको उक्त अभियान १५ दिनको एकपटक सरसफाई गरिने वडा सदस्य पुरुषोतम कर्माचार्यले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, उप प्रमुख गिता बञ्जारा, नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्य, वाग्मती सरसफाई अभियन्ताहरु किशोर सिंह शाहि लगायतको टोली सहभागी थियो भने सभासद रामहरी सुवेदी, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, ज्ञान विकास पुस्तकालयका अध्यक्ष ओमकृष्ण श्रेष्ठ, काभ्रेली सक्रिय महिला संगठनका अध्यक्ष सुमित्रा बञ्जारा आचार्य, राजाराम कर्माचार्य लगायतले मन्तब्य राखेका थिए ।
पनौतीमा लाग्ने मकर मेलाको तयारी तथा मकर मेला अगावै नदिको सरसफाई गर्ने र नियमित नगर र नदी सरसफाई गर्ने अभियान शुरु गरिएको नागरिक अभियानका अभियन्ताहरुले बताएका छन् ।





