2026 April 17/ 07:31: 34am

    बनेपा/त्रिभुवन विश्वविद्यालय ब्यवस्थापन संकायका डिन प्राध्यापक डा. डिल्लीराज शर्माले सेमेस्टर प्रणालीका कारण शैक्षिक गुणस्तर बढेको बताएका छन् । ‘मास्टर डिग्री तहमा सेमेस्टेर प्रणालीका कारण २७ प्रतिशत उर्तिण हुने गरेका विद्यार्थीहरुको संख्या ८२ प्रतिशत पुगेको छ’–उनले भने । 
    जिल्लाको पहिलो काभ्रे बहुमुखी क्याम्पसको शिक्षा दिवसको अवसर पारी आयोजना गरिएको ३८ औ बार्षिकोत्सव कार्यक्रममा बोल्दै डिन शर्माले गुृणस्तरीय शिक्षाका लागि कार्यक्रम मात्रै राम्रा भएर नहुने बताए । ‘कार्यक्रम मात्रै राम्रा भएर हुँदैन, शिक्षण विधी र प्राध्यापन गर्ने शिक्षकहरु अनुसन्धानमुलक हुनु पर्छ’–उनले भने–‘विद्यार्थीहरुलाई पठनपाठनमा संलग्न गराउन अनुसन्धानमुलक अध्ययन हुुनु पर्छ ।’ डिन शर्माले शैक्षिक क्षेत्र र शिक्षण विधी परिवर्तन गर्न सकिने बताउँदै विद्यार्थीहरुलाई क्याम्पसमा गठन हुने स्ववियुलाई राजनीतिक संगठन भन्दा शैक्षिक गुणस्तर सुधार्न ध्यान दिनु पर्ने बताए । त्रिवीले संचालन गरेका २४ वटा कार्यक्रम उत्तिक्कै प्रभावकारी भएको बताउँदै उनले ब्यवस्थापन र शिक्षा संकायमा ५२ प्रतिशत विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिए । 
    ‘ब्यवस्थापन र शिक्षा संकायमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरु राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा रोजगारमा संलग्न छन्’–डिन शर्माले भने–‘गुणस्तरिय शिक्षा उपलब्ध गराउँदा ब्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरु बेरोजगार हुनु परेको छैन ।’ त्रिवीले हरेक वर्ष समय सुहाउँदो कार्यक्रमहरुका लागि कोर्ष परिवर्तन गरिरहेको बताउँदै उनले विद्यार्थीहरुलाई कक्षामै राखेर पठनपाठन गराउनु पर्ने आजको आवश्यकता भएको बताए । संचालक समिति अध्यक्ष लम्बोदर कायश्थले जिल्लामा क्याम्पस नहुँदा ३७ वर्ष अघि संस्थापक क्याम्पस प्रमुख स्व. केदारनाथ प्रधानले शुरु गरेको क्याम्पस भौतिक रुपमा सक्षम हुँदै गएको र गुणस्तरीयतामा ध्यान दिएको बताए । 
    कार्यक्रममा क्याम्पस प्रमुख केजी बयदारले क्याम्पसका बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माध्यमिक तहको +२ कार्यक्रम र त्रिवीका क्याम्पस तहका विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताए । विद्यार्थीहरुको हितका लागि क्याम्पसले विभिन्न गतिविधिहरु गरिरहेको बताउँदै बजारमुखी, जीवनमुखी, ब्यवहारमुखी शिक्षाका लागि क्याम्पसले त्रिवीका कार्यक्रमहरु संचालन गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले ब्यवहारीक शिक्षाका लागि क्याम्पसले शुरु गरेको शैक्षिक कार्यक्रममा गुणस्तर कायम हुनु पर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले स्थापना गरेको छात्रवृत्ति प्रदान गरिएको थियो भने उत्कृष्ट शैक्षिक कार्यक्रम तथा खेलकुद कार्यक्रममा सहभागिहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा छात्रवृत्ति दाता दिनेशराज कायश्थ, पुर्व संचालक रामराजा धौभडेल, प्राध्यापक भिमप्रसाद सापकोटा, स्ववियु सभापति युगेश्वर कायश्थ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा उपाध्यक्ष मोहन दुवालले क्याम्पसले विधी र प्रविधिमा अगाडी बढाउन सबै पक्षको साथ आवश्यक रहेको बताए । क्याम्पसमा झण्डै एक हजार विद्यार्थीहरुले विभिन्न तहमा अध्ययन गरिरहेका छन् । बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।