धुलिखेल/जिल्ला बन कार्यालय काभ्रेले जडिबुटी उत्पादक, संकलक र ब्यवसायी बीच अन्र्तक्रिया गरेको छ । ब्यवसायीहरुले उत्पादकहरुलाई बजारको मूल्य र माग हेरेर मात्रै जडिबुटी उत्पादनमा लाग्न सुझाव दिए ।
एकै स्थानमा भेला भएका ब्यवसायी र संकलकहरुलाई कृषकहरुले जडिबुटी उत्पादन भए पनि बजार मुल्य नभएकाले कृषकहरु समस्यामा परेको बताए । ब्यवसायीहरुले गुणस्तर राम्रो नहुँदा नेपालमा उत्पादन भएको जडिबुटी विदेश निर्यात गर्न नसकेको बताए । ब्यवसायी मोहन बञ्जाराले नेपालमा उत्पादन हुने चुत्रो भारत निर्यात हुने बताए । ब्यवसायीहरुलाई टिम्बुर, अमला, काउलो, निमको पात, तुलसी, अलैची, तेजपात लगायतमा राम्रो बजार र मुल्य समेत भएको बताए । गुणस्तर दिन नसकेका कारण नेपालको जडिबुटी विदेश निर्यात गर्न नसकेको उनले बताए ।
अन्र्तक्रिया कार्यक्रममा नेपाल अलैंची ब्यवसायी संघ काभ्रेका अध्यक्ष राजकुमार सापकोटाले जिल्लामा अलैची उत्पादनको राम्रो बजार भए पनि कृषकहरु आर्कषित हुन नसकेको बताए । जिल्लाबाट १० टन भन्दा धेरै अलैची उत्पादन हुने गरेको भए पनि कृषकहरु संगठित भई समस्या र सम्भावनाका बारेमा छलफल नभएको बताए । कार्यक्रममा डिभिजन बन अधिकृत बद्रिकुमार कार्कीले जिल्लामा जडिबुटी उत्पादनका लागि सहज र सम्भावनाका क्षेत्रहरु बढाउन एकै पटक त्रिपक्षिय छलफल शुरु गरेको बताए । कृषकहरु गोपाल तिमल्सिना, कृष्णप्रसाद तिमल्सिना, रणबहादुर श्रेष्ठ लगायतले कृषकहरुले उत्पादन अनुसारको बजार मुल्य प्राप्त गर्न नसकेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले जडिबुटीको उत्पादन र ब्यवसायीक खेतिका बारेमा प्रचार प्रसार आवश्यक रहेको बताए ।
जिल्ला बन कार्यालयले सोहि अवसरमा चालु वर्षमा खर्च हुने गरी विनियोजन भएका कार्यक्रमहरुका बारेमा जानकारी गराएको थियो । जडिवुटी विकास कार्यक्रमले कृषकहरुका लागि उपलब्ध गराउन सक्ने सेवाका बारेमा जानकारी गराईएको थियो । डिभिजन बन अधिकृत बद्रिकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक बन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । २०६८ सालमा निर्णय भएको जडिवुटीको १५ वटा पकेट क्षेत्रका जनप्रतिनिधिहरु, कृषकहरु, सहकारी समुह तथा सरोकारवाला क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा पकेट क्षेत्रको पुनरावलोकन, जडिबुटी संकलन तथा कबुलियती बनको उपयोग र कृषकहरुलाई सम्वृद्ध बनाउने अभियानमा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । महाभारत क्षेत्रको बुढाखानी, गोकुले, पाँचखाल, बेथान्चोक, कुशादेवी तथा स्थानीय तहका विभिन्न स्थानमा जडिवुटीको उत्पादन बढाउने सम्भावनाहरुको खोजी गर्ने बताईएको थियो । जडिबुटी भण्डारण केन्द्र निर्माणका लागि १० लाख रकम प्राप्त भएको छ भने जडिबुटी खेती विस्तार तथा सहकारी मार्फत बजारीकरण गर्ने कार्यक्रम समेत प्राप्त भएको छ ।
बुढाखानी क्षेत्रमा मात्रै बार्षिक ३५ लाख बराबरको कफि उत्पादन भएको अभियानका नेता टेकबहादुर ठाडा मगरले बताए । अलैची, कफि, लोठ सल्ला लगायतका उत्पादन कबुलियती बन मार्फत धेरै हुने उनले बताए । कार्यक्रममा सहायक वन अधिकृत शिव थापा लगायतको सहभागिता रहेको थियो ।





