धुलिखेल/काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा जिल्लामा दुई दिने सहकारीका ब्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठी सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले गोष्ठीको उद्घाटन गरेका थिए । गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष बडालले सहकारीहरुले बहुआयामिक गरिवीलाई न्युन गर्न महत्वपूर्ण योगदान पु¥याएको बताए । ‘सहकारीहरुले सामाजिक न्यायका आधारमा गतिविधि अगाडी बढाई रहेका छन्’–‘सहकारी संचालनको मुटु ब्यवस्थापन हो, ब्यवस्थाप को–अपरेट हुनुपर्दछ ।’ अध्यक्ष रामहरी केसीले सहकारी भित्रको शुसासन, पारदर्शिता र जवाफदेहिता बहन गर्न ब्यवस्थापकहरुको क्षमता अभिबृद्धी गर्नु पर्ने बताए । बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत विकासका लागि सक्षम जिल्ला संघ बनाउने परिकल्पनाका अनुसार अगाडी बढेको अध्यक्ष केसीले बताए ।
बचत तथा ऋण सहकारी संस्थाहरुको प्रर्वद्धन, सुदृढिकरण र समन्वय गरी संस्थागत विकास गर्दै सदस्य संस्थाहरुलाई वित्तिय तथा गैर वित्तिय सेवा पु¥याउनु, जिल्ला भित्र रहेका सहकारीमा कार्यरत ब्यवस्थापकिय कर्मचारीहरुलाई विषयगत छलफलका लागि साझा मञ्च उपलब्ध गराउने उदेश्यले उक्त गोष्ठी आयोजना गरिएको प्रवन्धक ज्ञानेन्द्र दाहालले बताए । सहकारीमा कार्यरत ब्यवस्थापन प्रमुखहरुको ब्यवस्थापकिय क्षमता विकास गरी नतिजामा आधारित ब्यवस्थापनको अवधारणा पेश गर्ने, सहकारी क्षेत्रमा भएका नविनतम विधि, प्रविधि र अभ्यास आदान प्रदान गर्ने, सहकारी अभियानमा देखिएका जोखिमका क्षेत्रहरुमा पहिचान गरी न्यूनिकरणका उपायहरुमा छलफल गर्ने, सहकारी सहकारी बीचको आपसी समन्वय र सिकाईको आदान प्रदान मार्फत ब्यवस्थापकिय क्षेत्र मजबुत बनाउने, सहकारीको भविश्यलाई कुशल ब्यवस्थापनसँ जोड्ने प्रयास गर्ने, सहकारी क्षेत्रलाई रोजगारको आर्कषक रोजाई निर्माणका लागि कुशल प्रतिस्पर्धी ब्यवस्थापन तयार गर्ने गोष्ठीको उदेश्य रहेको थियो । उदेश्य अनुरुप गोष्ठी सफलताका साथ सम्पन्न भएको अध्यक्ष केसीले बताए ।
गोष्ठीको पहिलो दिन काभ्रेको सहकारी अभियान, ब्यवस्थापकीय चुनौती र सम्भावनाका बारेमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी सहकारीका प्रवन्धक ज्ञानेन्द्र दाहाल, सहकारीमा मानवश्रोत विकास र सफलताको योजनाका बारेमा नेफ्सकुनका शिवजी सापकोटा, ऋण लगानीका बारेमा प्रमोद घिमीरे र सहकारीमा वित्तिय ब्यवस्थापनका बारेमा केशवप्रसाद पोखरेलले प्रशिक्षण दिएका थिए । दोश्रो दिन सहकारी क्षेत्रमा श्रम ऐन तथा सामाजिक सुरक्षा योजनाको कार्यान्वयन, टेक्नोलोजिकल च्यालेन्ज इन को अपरेटिभस्का बारेमा नारायण भुजु, सहकारीमा सकारात्मक सोचका बारेमा डा. राजु अधिकारीले प्रशिक्षण दिए ।
उद्घाटन कार्यक्रममा नेफ्स्कुनका कोषाध्यक्ष केशवप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, बचत तथा ऋण सहकारी संघ लिमिटेडका इन्द्रप्रसाद अधिकारी, उदयराम कायश्थ, सुरेन्द्र पौड्याल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा संघमा आवद्ध २ सय २६ सहकारी मध्ये १ सय ३ वटा सहकारीका १ सय २३ जना ब्यवस्थापकहरु सहभागि छन् । जिल्लामा १ हजार ४ सय ९५ वटा सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको थियो । काभ्रेमा पहिलो पटक २०१७ सालमा पाँचखाल बहुमुखी सहकारी दर्ता भई संचालनमा आएको थियो ।





