2026 April 17/ 06:03: 58am

    पनौती/सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले नक्कली कागजात बनाएर अड्डा अदालत धाउनेका दिन सकिएको बताएका छन् ।
 काभ्रेको पनौतीमा पनौती कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बास्कोटाले उक्त कुरा बताएका हुन् । पनौतीमा क्षेत्रिय रंगशाला निर्माणको काम भइरहँदा कणेल परिवारले सार्वजनिक जग्गालाई आफ्नो दावी गर्दै आएका छन् । त्यस प्रति संकेत गर्दै मन्त्री बाँस्कोटाले जनतालाई दुखी बनाएर भावी पुस्तालाई समेत पिडामा राख्ने र रंगशाला निर्माण प्रकृयालाई असफल बनाउने प्रयास स्विकार्य नहुने बताए । जग्गा विवाद सम्बन्धि विषय क्याविनेटमा प्रवेश भइसकेकाले यो लडाँइमा पनौती नगरवासीको जित हुने उनले बताए । कार्यक्रममा संविधानसभा सदस्य रामहरी सुवेदीले सार्वजनिक जग्गा शक्तिको दुरुपयोग गरि व्यक्तिको बनाइएकाले दुषित दर्ता बदर गरि रंगशाला निर्माण लाई तिव्रता दिनुपर्ने बताएका छन् । यस्तै प्रदेशसभा सदस्य चन्द्र लामाले पनौती कपले रंगशाला निर्माणमा एउटा इँटा थपेको भन्दै प्रशंसा गरेका छन् । पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले जग्गा विवाद छिट्टै टुङगिने बताए । १९ गते बाट सुरु भएको रोशी साकोस पनौती कप माघ २६ गते सम्म सन्चालन हुनेछ । 
पनौती नगरपालिकाको मुख्य आयोजना रहेको प्रतियोगितामा विश्राम समाज, मानेश्वरी ग्रुप, रोशि साकोस, पनौती रोटरी लगायतका संघ संस्थाको सहयोग रहेको छ । आयो वडास्तरीय खेलमा पनौती नगरपालिकाका १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद सहित शिल्ड, मेडल प्रमाण पत्र पाउनेछ भने दोस्रो हुनेले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय, सर्वा्धिक गोलकर्ताले ५ हजार र हरेक खेलको म्यान अफ दि म्याचले नगद १५ सय र ट्रफी पाउनेछन् । यस्तै पनौतीमा जन्मिएर राष्ट्रिय र ए डिभिजन खेल्ने खेलाडीलाई सम्मान समेत गरिने विश्राम समाजका अध्यक्ष डा.राजेन्द्र ताम्राकारले जानकारी दिएका थिए । रंगशाला निर्माणमा सकारात्मक दवाव दिनका लागि पनौती कपको आयोजना गरिएको आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगा बहादुर दोङ बमध्वज, पनौती नगरपालिकाका उप प्रमुख गीता बन्जारा, १२ वटै वडाका वडा अध्यक्ष, नेकपा पनौती नगर संयोजक सहदेव थापा, फिफा सहायक रेफ्रि माधव केसी, रोशी साकोसका अध्यक्ष राजेशसुन्दर शैंजु लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन लक्ष्मीनारायण खिंबन्जारले गरेका थिए ।