बनेपा/पनौतीमा रहेको सामुदायिक साकोसले स्थापनाको २५ औ बार्षिकोत्सव सम्पन्न गरेको छ । सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले निष्क्रिय रहेको पुँजीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तथा सहकारीहरुलाई आव्हान गरेका छन् । २५ औं स्थापना दिवस तथा रजत महोत्सवको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले राजनीतिक आन्दोलन सकिए सँगै सरकारको मुख्य ध्यान उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन केन्द्रित रहेको बताए । मन्त्री बाँस्कोटाले सरकार अब कुनै खुद्रे कुरामा अल्झन नसक्ने बताउँदै छिटो भन्दा छिटो प्रगती गर्न उत्पादन क्षेत्रलाई प्राथमिकता दिइने बताए । ‘सरकारले कृषि, पर्यटन, पशुपालन, सञ्चार, यातायात, जलविद्युत, पुर्वधार लगायत आठ क्षेत्रलाई उत्पादन बढाउने मुख्य इन्जिनको रुपमा अगाडि सारेका छौ’–उनले भने–‘सरकारको लगानी केन्द्रित गर्न आगामी चैत्रमा लगानी सम्मेलनको आयोजना गरिएको छ ।’
सरकारले तिव्र आर्थिक बृद्धिदर कायम गराउने लक्ष्य लिइरहेको बताउँदै मन्त्री बास्कोटाले राष्ट्रिय आर्थिक बृद्धिदर छ प्रतिशत पुग्ने संकेत देखिनु मुलुकका लागि सकारात्मक भएको बताए । मुलुक विकासको चरणमा प्रवेश गरेकाले ठूला, मझौला पुर्वधारहरुसँगै पुल, बाटो, हाइड्रोपावर बन्ने क्रम तिव्र गतीमा रहेको बताए । कार्यक्रममा सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जाराले सहकारी ऐन २०७४ आए पनि त्यस अनुसारको नियमावली बन्न ढिलाई हुँदा काम गर्न अप्ठेरो परेको बताए । २५ बर्ष अगाडी ४१ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले २० हजार शेयर सदस्य र एक अर्ब ६२ करोड कारोबार गर्न सफल भएको बताए । जिल्लाका आम नागरिकलाई सामुदायिक सहकारीको सदस्य बनाउने अभियानमा लागेको बताउँदै १३ वटै स्थानीय तहमा सेवा केन्द्र खोलिरहेको बताए । जन्मे देखि मृत्युसम्म सहकारीको सहयोग रहेको बताउँदै उनले सहकारी मार्फत ब्यक्तिको जीवन परिवर्तन मात्रै नगरेको कृषि र पशुपालन क्षेत्रमा समेत समृद्धी ल्याएको बताए ।
सोहि अवसरमा सहकारीले जिल्लामै पहिलो पटक एटिएम सेवा शुरु गरेको छ । पनौती बसपार्कमा रहेका उक्त एटिएम सेवाबाट जुनसुकै बैकका एटिएम कार्ड प्रयोग गर्न सकिनेछ । स्मारिका विमोचन, सदस्यहरुको सम्मान तथा विविध कार्यक्रम रजत महोत्सवमा आयोजना गरिएको सचिव मुकुन्द शर्माले बताए । कार्यक्रममा सासंदहरु तथा जनप्रतिनिधिहरु र संस्थाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।





