2026 April 17/ 05:44: 10am

    धुलिखेल/नेपाल रेडक्रस सोसाईटी काभ्रेले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोमा ग्रामीण आपतकालीन ट्रमा प्रणाली सुदृढीकरण कार्यक्रम संचालन गर्न शुरु गरेको छ । आईतबार एक कार्यक्रमका बीच सरोकारवालाहरुलाई अभियानका बारेमा जानकारी गराएको थियो ।
    सभापति रघुवर चौ प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पनौती नगरपालिका प्रमुख भिम न्यौपाने प्रमुख अतिथी रहेका थिए । स्थानीय सरकार प्रमुख, उपप्रमुखहरु, स्वास्थ्यसँग सम्वन्धित ब्यक्तिहरु, धुलिखेल अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठ लगायतको सहभागिता थियो । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर, बेथान्चोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, खानिखोला गाउँपालिका उपाध्यक्ष रुकमणी गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रम अन्र्तगत आपतकालिन अवस्थामा स्वास्थ्यसँग सम्वन्धित तालिम, मेडिकल सामान, एम्बुलेन्स सेवा र तथ्याङ्क संकलन गरिने कार्यक्रम संयोजक सदिक्षा श्रेष्ठले बताईन् । क्यानेडियन रेडक्रसको सहयोगमा सिन्धुपाल्चोकमा ३ र काभ्रेपलाञ्चोमा ४ वटा ख वर्गको एम्बुलेन्स संचालन हुनेछ । धुलिखेल अस्पतालमा राखिने उक्त एम्बुलेन्सलाई ट्रयाकिङ्ग गरिनेछ । एम्बुलेन्स भित्रै दक्ष जनशक्ति र औषधीको ब्यवस्थापन हुनेछ । चालकलाई समेत आपतकालिन अवस्थामा विरामीहरुको कसरी उद्धार गर्ने र एम्बुलेन्ससम्म ल्याईपु¥याउने विषयमा तालिम दिईनेछ । सिन्धुपाल्चोक र काभ्रेमा आपतकालिन अवस्थामा उद्दार गर्ने सन्र्दभमा तालिम दिन शुरु गरिएको छ ।
    कार्यक्रममा रेडक्रसका मन्त्री उद्धव पौड्याल लगायतले ग्रामीण आपतकालिन ट्रमा प्रणाली सुदृढिकरणका बारेमा जानकारी गराएका थिए ।