धुलिखेल/नेपालमा रहेका भकभकेहरुले आफुहरुलाई टेलि श्रृङखलामा समेत हाँसोको पात्रो बनाइएको भन्दै गुनासो गरेका छन् । नेपाल भकभके संघको आयोजनामा काभ्रेको धुलिखेलमा भएको भकभके व्यक्तिहरुको भेलामा उपस्थित व्यक्तिहरुले उक्त गुनासो गरेका हुन् ।
उनीहरुले भकभक गर्नु कुनै रोग नभएको यो आफुहरुको समस्था मात्रै भएको बताएका छन् । उनीहरुले सरकारले समेत आफुहरुलाई नेपाल प्रहरी, नेपाली सेनामा भर्ना गर्न नदिएको, भकभके बोल्ने मानिसहरुलाई अन्य रोगीहरुको जस्तै व्यवहार गरिएको गुनासो गरेका हुन् । उनीहरुले १० वर्षसम्मका बालबालिकामा भकभकेको समस्या देखिएमा स्पिच थेरापीको माध्यमबाट निको पार्न सकिने बताए । उनीहरुले भकभकेको अन्य उपचार नभएकोले सानै उमेरका बालबालिकामा यो समस्या देखिएको खण्डमा स्पिच थेरापीको माध्यमबाट समस्या समाधान गर्न सकिने बताए । नेपाल भकभके संघका केन्द्रीय अध्यक्ष सञ्जयकुमार झाले विश्वको कुल जनसंख्यामा १ प्रतिशत भकभके र नेपालमा कुल जनसंख्यामा २ लाख ७० हजार व्यक्ति भकभके रहेको बताए ।
कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले भकभके व्यक्तिहरुले एउटा समस्या भयो भन्दैमा अन्य आफ्ना क्षमतालाई लुकाउन नहुने बताए । उनले भकभके व्यक्तिहरुले आफुमा बैकल्पिक योग्यता निर्माण गरि आफुलाई अब्बल बनाउनुपर्नेमा जोड दिए । देशका १६ जिल्लामा संघको शाखा तथा २३ जिल्लामा भकभके व्यक्तिहरुको पहिचान भएको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, धुलिखेल नगरपालिका वडा नम्बर ११ का अध्यक्ष विष्णु धिताल, जनस्वास्थ्य निरिक्षक सञ्जय मिश्र, सञ्जीवनी उच्च माविका प्रधानाध्यापक सानुकाजी महत, सहायक प्रधानाध्यापक लोकेन्द्र ढकाल, हेल्प नेपाल काभ्रेका प्रमुख पूर्ण कार्कीलगायतको उपस्थिती रहेको थियो ।





