2026 April 17/ 02:33: 21am

    बनेपा/नेपाल बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक र धर्मनिरपेक्ष समेत भएकाले राज्यले सबै क्षेत्रलाई समेट्दै अगाडी बढ्ने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए । 
    बनेपा नगर भित्र रहेका २६ वटा चर्चद्वारा आयोजित क्रिसमसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले राज्यको कुनै जात र धर्म नहुने भएकाले धर्म नैतिकतामा आधारति हुने बताए । ‘राज्यको कुनै धर्म हुँदैन’–मन्त्री बास्कोटाले भने–‘धर्म निरपेक्ष राज्यमा धर्म मान्ने ब्यक्तिको निजी विषय हो ।’ राज्य साझा भएकाले जातिका नाममा, धर्मका नाममा, क्षेत्रका नाममा सद्भाव भड्काउन खोज्ने कुरा क्षम्य नहुने मन्त्री बास्कोटाले बताए । एक धर्म र अर्काे धर्म बीच लडाँई लड्नु पर्ने अवस्था नभएकाले धार्मिक विश्वास माथी हमला गर्नु नहुने बताउँदै मन्त्री बास्कोटाले धार्मिक स्वतन्त्रतामा कसैले छिछी र दुरदुर तथा जर्बजस्ति गर्न नहुने स्पष्ट पारे । 
    बनेपा नगरपालिकामा २६ वटा चर्च रहेका छन् । संयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री बास्कोटाले क्रिसमसलाई स्वतन्त्र रुपले मनाउन पाउने हकलाई राज्य र संविधानले समेत ग्यारेण्टी गरेको बताए । अध्यक्ष पास्टर रुबेन रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा बनेपा नगरपालिकाका अधिकांश वडाका वडा अध्यक्षहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । दिनभर आयोजना गरिएको कार्यक्रममा क्रिसमससँग सम्वन्धित विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । 
    क्रिसमसको अवसरमा जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।