पनौती/१०३ वर्ष पुरानो पाठशाला पनौती आधारभुत विद्यालय(पाठशाला)को भजन निर्माणका लागि शिल्यान्यास गरिएको छ । सांसद चन्द्र लामाले उक्त भवनको एक कार्यक्रमका बीच शिल्यान्यास गरेका थिए ।
भवन शिल्यान्यास कार्यक्रममा प्रदेश सभा सांसद चन्द्र लामा, पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपाने, पिस इन्टरनेशलका प्रोपाईटर तथा पण्डित अच्युत प्रसाद भट्टराईबाट विधिपुर्वक भवनको जग पुजा गरिएको थियो । कार्यक्रममा पुर्व सांसद रामहरि सुवेदी, प.न.पा का पुर्व नगर प्रमुख सप्तकाजी बुद्धाचार्य, तेजगंगा क्याम्पसका प्रमुख डा.अम्बुभवानी कार्की, दाताको तर्फबाट पिस इन्टरनेशलका प्रोपाइटरद्वय सर्वोत्तमलाल श्रेष्ठ र मनिषा श्रेष्ठ, प.न.पा. वडा नं ९ का वडा अध्यक्ष सहकुल हुमागाई, वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र नासननी, प.न.पा. शिक्षा शाखाका प्रमुख महेश्वर जंगम, इन्द्रेश्वर क्याम्पसका क्याम्पस प्रमुख श्रीकुमार सुवाल लायतको सहभागिता रहेको थियो ।
शिशु कक्षा देखि ८ कक्षा सम्म सञ्चालन भई २ सय ५० जना विद्यार्थीहरु अध्ययन गर्ने उक्त विद्यालयको नयाँ भवन बनाउन आवश्यक सहयोग गर्न प्रदेश सरकार समक्ष योजना पेश गरी आवश्यक रकम उपलब्ध गराउने प्रतिवद्धता सांसद चन्द्र लामा बताएका थिए । शिक्षिका अम्बिका थापाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयको परिचय तथा कार्यक्रम माथि प्रकाश प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले गरेका थिए । स्वागत मन्तव्य वडा नं ९ का वडा सदस्य मुकुन्द सापकोटाले ब्यक्त गरे भने भवन निर्माण सहयोग समितिका अध्यक्ष बुद्धरत्न बुद्धाचार्यको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालयको इतिहास
काठमाण्डौबाट ३२ कि.मि. दक्षिण पुर्व पनौती न.पा वडा नं ७ मा सञ्चालन भइरहेको सामुदायिक विद्यालय पनौती आधारभूत विद्यालय (पाठशाला) वि.सं १९७२ सालमा भाषा पाठशालाको नामबाट स्थापना भएको विद्यालय हो । यो विद्यालय बनेपादेखि दक्षिण भेगकै सबैभन्दा पुरानो विद्यालय हो । पनौतीको पुरानो बजारमा अवस्थित यस विद्यालयको भवन सत्तलको रुपमा रहेको भवनमा कक्षा सञ्चालन भइरहेको छ । जुन भवनमा कक्षाकोठाहरु साना, अँध्यारो, सानो काठे भ¥याङ, मात्रा ४ आनामा बनेको भवनमा घेराबार, खेलमैदान कुनै पनि नभएको, भवन बाहिर निस्कनासाथ गाडी गुड्ने बाटो भएको हुँदा दुर्घटनाको सम्भावना सधैं रहेको, विहानी प्रार्थना, खेल्ने समयमा त्यही बाटोमा खेल्नुपर्ने बाध्यता रहेको छ ।
दिउँसै बत्ती बालेर पढाउनु पर्ने अवस्था रहेको जस्ता अवस्थाहरुमा विद्यालय संचालन गर्नुपर्ने भएको हुँदा १०३ वर्ष पुरानो विद्यालय भएतापनि कक्षा अपग्रेड गरी मा.वि, उच्च मा.वि सञ्चालन गर्न सकेको छैन । विद्यालयमा अध्ययरत विद्यार्थीहरुको लागि अनुभवी शिक्षकहरुबाट पढाई, उचित छात्रवृत्ति, दैनिक खाजा, निशुल्क छोटो तथा लामो दुरीको शैक्षिक भ्रमण, पोशाक तथा स्टेशनरी वितरण, निशुल्क कम्प्युटर शिक्षा, अंग्रेजी माध्यमबाट शिक्षण लगायत थुप्रै सहयोग दाताहरुबाट उपलब्ध गराइएको हुँदा प्रत्येक वर्ष विद्यार्थीहरुको भर्ना वृद्धिदर बढ्देै गएको छ । त्यसैले विद्यालयको नयाँ भवन बनाउन दाताहरु खोजी गर्ने क्रममा अन्तिममा पिस इन्टरनेशनल ट्राभल्स काठमाण्डौको सहयोगमा अमेरिका स्थित गेट वान फाउण्डेशनबाट पनौती न.पा. वडा नं ९ स्थित भिमसेन स्थानमा विद्यालयको आफ्नै नाममा रहेको ३ रोपनी जग्गामा नयाँ भवन बनाइदिने प्रस्ताव अनुरुप पनौती नगरपालिकासँग सहकार्य गरी उक्त संस्थाबाट १ लाख ९५ हजार अमेरिकन डलर सहयोग गर्ने र भवन बनाउन लाग्ने कुल लागतमा पनौती नगरपालिकाबाट १०% बराबरको रकम उपलब्ध गराई भवन बनाउने सम्झौता भएको छ । पहिलो चरणमा निर्माण हुन गइरहेको भवनको लागत ३ करोड ३ लाख रहेको छ ।





