साँगा/नेपाल प्रहरी स्कुल साँगा काभ्रेको आयोजनामा २६ औ अन्तर स्कुल आईजिपी फुटबल रनिङ्ग ट्रफि कपको उपाधी सैनिक विद्यालय भक्तपुरले हात पारेको छ ।
आयोजक विद्यालय नेपाल प्रहरी विद्यालय साँगालाई ४–२ ले हराउँदै सैनिक विद्यालय विजयी भएको हो । लगातार दुई पटक रनिङ्ग कपको उपाधी हात पारेको नेपाल प्रहरी विद्यालय साँगालाई हराउँदै सैनिक विद्यालय भक्तपुरले उपाधी हात पारेको हो । तेश्रो पटक आयोजक विद्यालयले विजयी हासिल गरेको भए रनिङ्ग ट्रफि कब्जामा पार्ने थियो । सैनिक विद्यालय भक्तपुरकै उत्तम शाहि म्यान अफ म्याच घोषित भए भने बेस्ट गोल्किपर रोहित राना मगर र हास्कोर सैनिक विद्यालयकै विशाल आले मगरले हात पारे । इमरजिङ्ग प्लेयर निर्जल खरेल प्रहरी विद्यालयका भए भने म्यान अफ द सिरिजको उपाधी प्रहरी स्कुलकै शेखर राना मगरले प्राप्त गरे ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गरेको थियो । वितरण गरिने छ । त्यस्तै दोश्रो हुने टिमले नगद २० हजार र तेश्रो हुने टिम आयोजक विद्यालयको समुह वि ले नगद १० हजार रुपैया प्राप्त गरेको छ । मल्पी इन्टरनेशनल विद्यालयलाई हराउँदै आयोजक वि समुह तेश्रो भएको थियो । विजयी टिमलाई आईजिपी सर्बेन्द्र खनालले पुरस्कार वितरण गरेका थिए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे लगायतले विजयी तथा सहभागि खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
समादेशक डिएस्पी श्याम अधिकारीले खेल र खेलाडीको महत्वका बारेमा जानकारी गराउँदै विकास, सम्वृद्धी र अनुशासन कायम गर्न खेलले महत्वपूर्ण भूमिका खेल्ने बताए । अध्ययन सँग सँगै अतिरिक्त कृयाकलापबाट विद्यार्थीहरुलाई अगाडी बढाउँदा चौतर्फि विकास हुने उनले बताए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल नविन श्रेष्ठले विद्यार्थीहरुको शैक्षिक र अतिरिक्त कृयाकलापको विकास र विस्तार सँगै लगिएको बताए । प्रहरी स्कुलले फुटबल तथा अन्य प्रतियोगिताहरु मार्फत विद्यार्थीहरुको क्षमता र प्रतिभालाई प्रस्फुटन गरेको उनले बताए । प्रतियोगितामा नेपाल प्रहरी स्कुल साँगा ए, धुलिखेल हाई स्कुल, बेलर इन्टर नेशनल स्कुल, नेपाल सैनिक विद्यालय, नेपाल प्रहरी सामाखुशी, ग्रेसल्याण्ड स्कुल, मल्पि स्कुल, रामभक्त, नाईटिङ्गेल स्कुल, नेपाल प्रहरी वि, एसओएस बालग्राम, एसएस एकेडेमी लगायतका विद्यालयले भाग लिएका थिए ।





