१ हजार ३ सय ६१ दीक्षित
धुलिखेल/काठमाडौं विश्वविद्यालयको दोश्रो चरणको २४ औ दीक्षान्त समारोह चीनका बरिष्ठ बैज्ञानिक तथा सन यात सेन विश्वविद्यालयका प्रेसिडेन्ट प्रो. जुन लुओको प्रमुख आतिथ्यतामा शुक्रबार धुलिखेलमा सम्पन्न भएको छ ।
दीक्षान्त समारोहमा म्यानेजमेन्ट, साईन्स, इन्जिनियरिङ्ग, आर्टस र एजुकेसन विद्याका १४ जना पीएचडी र ७१ जना एमफिल सहित स्नातक र स्नातकोत्तर तहका १ हजार ३ सय ६१ जना विद्यार्थी दीक्षित भए । सबै भन्दा धेरै म्यानेजमेन्टका ४ सय ५१, साईन्सका २ सय ५७ जना, इन्जिनियरिङ्गका २ सय ७९ जना, आर्टस्का २ सय २७ जना र एजुकेशनका १ सय ४७ जना रहेका छन् । प्रतिशतका आधारमा सबै भन्दा धेरै म्यानेजमेन्टका ३३ प्रतिशत विद्यार्थी दीक्षित भए ।
काठमाडौ विश्वविद्यालयको इतिहासमा पहिलो पटक नेपाली र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग गरी दुई विद्यामा पीएचडी उपाधी प्रदान गरिएको थियो । दीक्षित हुने विद्यार्थीहरु मध्ये पुरुष ५३.६४ प्रतिशत अथार्त ७ सय ३० जना र महिलाको प्रतिशत ४६.३६ प्रतिशत अर्थात ६ सय ३१ जना रहेका थिए । अस्ट्रिया, भुटान, क्यानाडा, फ्रान्स, जर्मनी, भारत, पाकिस्तान, आयरल्याण्ड, बेलायत र अमेरिका गरी १० देशका २० जना विद्यार्थीहरु रहेका थिए । दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा सबै भन्दा बढी सीजीपीए प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गर्ने चान्सलर स्वर्णपदक स्कुल अफ साईन्सको मास्टर अफ फार्मेसीमा ३.९८ सीजीपीए ल्याउने अनिषा शाक्य र स्नातक तहमा सबै भन्दा बढी सीजीपीए प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिने भाइस चान्सलर स्वर्णपदक स्कुल अफ साईन्सबाटै बायोटेक्नोलोजी विषयमा ३.९९४ सीजीपीए ल्याउने सन्देश आचार्यलाई प्रदान गरिनेछ । यसै गरी एमवीए तहमा सबैभन्दा बढी सीजीपीए ल्याउने विद्यार्थीहरुलाई प्रदान गरिने जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टबाट एमबीएमा ३.९५ सीजीपीए ल्याउने मेरिना श्रेष्ठलाई र एमबीए तहका सर्वाेत्कृष्ठ विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्र्वणपदक स्कुल अफ म्यानेजमेन्टकै एमबीए तहमा ३.७६ सीजीपीए ल्याउने सर्वाेत्कृष्ट विद्यार्थी निदीप पन्तलाई प्रदान गरिएको थियो ।
२४ औ दीक्षान्त समारोहसम्म काठमाडौ विश्वविद्यालयबाट २८ हजार ७ सय ९४ जना विद्यार्थी उत्तिर्ण भएका छन् । पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकजु, रजिस्टार प्रा.डा. सुबोध शर्मा, डिनहरु लगायतको सहभागिता रहेको थियो । २४ औं दीक्षान्त समारोहमा दुई पटक गरी कुल २ हजार ९ सय १६ जना विद्यार्थी दीक्षीत भएका हुन् । श्रीलंका र मालदिभ्स समेत गरी १२ देशका १ सय ८१ जना दीक्षित भए । दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणी पोखरेल, उपकुलपति रामकण्ठ माकजु लगायतको दीक्षान्त समारोहमा सहभागिता रहेको थियो । सभालाई सम्बोधन गर्दै काठमाडौ विश्व विद्यालयका उपकुलपति प्रा.डा.रामकण्ठ माकजु श्रेष्ठले हाम्रो देश र जनताको स्थितिका बारेमा चिन्तन गर्न, देशको वास्तविक अवस्था बुझ्न अनुरोध गरे । ‘शिक्षीतहरु उच्च शिक्षा र रोजगारिका लागि विदेशीन लामबद्ध छन् भने न्यून बर्गीय परिवारका युवाहरु श्रम गर्न विदेशीन लागेका हुन्छन् । यतिबेला परिवारको अनुहारमा गर्व, खुशी र ठूला–ठूला अभिलासाहरु पढ्न सकिन्छ । तर हामीले ती युवापुस्तालाई राम्रो शिक्षामा पहुँच दिन सकेनौं, शिक्षीत भएकाहरुलाई पनि स्वदेशमा रोजगारी दिन सकेनौ । जो विदेशीदै छन ती युवाहरुले आफ्नो देश प्रति धिकारी रहेका छन्’– उपकुलपति माकजूले भने–‘नेपाल प्रशस्त अवसर र सम्भावनाहरु भएको देश हो र जीवन्त प्रयोगशाला पनि हो । यो प्रयोगशालामा हामीले आविष्कार, नवीनतम खोजी र सकारात्मक परिवर्तन गराउने कामको शुरुवात गर्नैपर्छ । देश र समुदायका लागि प्रत्यक्ष प्रभाव पार्नका लागि युवा वर्गमा व्यवहारिक शिक्षा दिनैपर्छ र काठमाडौ विश्वविद्यालय त्यहि पथमा हिडेको छ ।’
समारोहमा सहकुलपति पोखरेलले काठमाडौँ बिश्वबिद्यालयले शिक्षा र स्वास्थ्यका क्षेत्रमा गरेका उपलब्धि तथा मानव शंसानको विकासमा गरेका उपलब्धि र भावि योजना देशकै लागि महत्वपूर्ण भएकाले मन्त्रालयका तर्फबाट आवश्यक सहयोगमा कुनै कमी आउँन नदिने बताए । दीक्षान्त समारोहका विशेष अतिथि चिनियाँ बैज्ञानिक तथा सन यात सेन विश्वविद्यालयका प्रेसिडेन्ट प्रो.जुन लुओले दीक्षीत विद्यार्थीहरुलाई शुभकाना दिँदै नेपालमा आफु पहिलो पटक आएको र नेपाली जनता तथा नेपालको सुन्दर भौगोलिक अवस्थालाई नियाल्दा अत्यन्तै खुशी लागेको बताए ।





