2026 April 17/ 02:33: 20am

अध्यक्षमा पुनः प्रकाश निर्विरोध
    पनौती/राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न अर्वाड प्राप्त गर्न सफल सामुदायीक बचत तथा ऋण सहकारी संस्था लि पनौतीको २४ औ वार्षिक साधारण सभाबाट दोश्रो पटक प्रकाश बञ्जाराको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध भएको छ । 
    जिल्लाकै दोश्रो ठुलो सहकारीका रुपमा स्थापित सामुदायिक साकोसको उपाध्यक्ष कुमारप्रसाद लामिछाने, सचिव मुकुन्द शर्मा, कोषाध्यक्ष प्रताप ताम्राकार, सदस्यहरुमा कृष्ण थापा, राज सुन्दर रघु श्रेष्ठ, सुकुमान तामाङ, रामकृष्ण घिमिरे, मुकुन्द प्रसाद अर्याल रहेका छन् । महिला सदस्यमा भवानी थापा, सुस्मिता नेपाली, जमुना सापकोटा, मनिका शाक्य, ममता गेलाल खत्री दलित तथा जनजाती सदस्यमा कान्छा प्रधान रहेका छन् । त्यसै गरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा हरिप्रसाद तिमल्सिना तथा सदस्यमा प्रयाग खत्री केसी र मिना श्रेष्ठ रहेका छन् । निर्वाचित संचालक समितिको पदावधी नयाँ सहकारी ऐन अनुसार चार वर्षको हुनेछ । निर्वाचित पदाधिकारीहरुले शनिबार नै निर्वाचन समितिबाट सपथ ग्रहण गरी पदबहाली गरेका छन् । 
    संस्थाले गत वर्ष देखि शुरु गरेको क्षेत्रगत साधारण सभालाई यो वर्ष पनि निरन्तरता दिएको छ । १९ हजार १ सय शेयर सदस्य रहेको सहकारीको कुल कारोवार १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।  १६ करोड ५० लाख शेयर पुँजी रहेको सहकारीमा १ अर्ब १५ करोड बचत संकलन भएको छ भने १ अर्ब ३५ करोड ऋण लगानी भएको छ । सहकारीले स्थापना दिवस तथा अन्य विशेष समारोहमा शेयर सदस्य, उत्कृष्ट बचत कर्ता, ऋणी तथा अन्य विशिष्ठ ब्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा ७ जना विपन्न शेयर सदस्यलाई नगद ३ हजारका दरले सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिए । 
    अध्यक्ष प्रकाश बञ्जाराको अध्यक्षतामा केन्द्रिय कार्यालय पनौतीमा सम्पन्न सभामा प्रदेश सभा सांसद बसुन्धरा हुमागाई प्रमुख अतिथी थिए । नगरपालिका प्रमुख भिम न्यौपाने लगायत सहकारीकर्मीहरुको सहभागिता रहेको सभामा कोषाध्यक्ष राजन श्रेष्ठको आर्थिक प्रतिवेदन, सचिव मुकुन्द शर्माको बार्षिक प्रतिवेदन र संस्थाको चार वर्षे रणनीतिक योजनाका बारेमा कोषाध्यक्ष राजन श्रेष्ठले जानकारी गराएका थिए भने लेखा समितिको प्रतिवेदन लेखा संयोजक हरिप्रसाद तिमल्सिनाले प्रस्तुत गरेका थिए । बनेपामा सम्पन्न सभामा सचिव मुकुन्द शर्माको अध्यक्षता तथा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यता रहेको थियो । 
    त्यस्तै कुशादेवीमा आयोजित सभामा संचालक सदस्य चित्रबहादुर थापाको अध्यक्षता तथा पनौती नगरपालिका वडा नम्वर २ का अध्यक्ष पुरुषोतम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । रोशीमा आयोजित सभामा संचालक कुमारप्रसाद लामिछानेको अध्यक्षता तथा पनौती १२ का वडाअध्यक्ष इश्वर जंगमको प्रमुख आतिथ्यता रहेको थियो । खोपासीमा आयोजित सभामा उपाध्यक्ष प्रताप ताम्राकारको अध्यक्षता तथा वडा नम्वर १० का अध्यक्ष मोहनबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बेथान्चोक गाउँपालिकाको सभामा लेखा समिति सदस्य कान्छा प्रधानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । 
    धेरै शेयर सदस्य भई जिल्लाको दोश्रो सहकारीको रुपमा चिनिएको सामुदायिक साकोस विभिन्न क्षेत्रबाट सम्मानित हुँदै आएको छ । भर्खरै उत्कृष्ट ब्यवस्थापकको रुपमा सम्मानित संस्थाले शेयर सदस्यहरुलाई ब्यवसायीकरण गर्दै अगाडी बढेको अध्यक्ष प्रकाश बञ्जाराले बताए ।