2026 April 17/ 12:36: 41am

   बनेपा/बनेपा नगरपालिकाको प्रायोजन तथा वडा नम्वर ५ को संयोजनमा बनेपामा आयोजना गरिएको प्रथम मेयर कप अन्तर वडा स्तरीय नाईन ए साईड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रथम मेयर कप वडा स्तरीय नाइन ए साइड फुटवलको उपाधी वडा नम्बर १३ ले हात पारेको छ । 
    प्रतियोगिताको फाईनल खेलमा वडा न १३ ले १४ लाई ५–० फराकिलो गोल अन्तरमा पराजित गरेको थियो । वडा न १३ लाई उपाधी जिताउन विकास श्रेष्ठले ह्याटिक गरेका थिए भने मनिष मानन्धर र निशान पराजुलीले एक एक गोल गरेका थिए । प्रतियोगितामा प्रथम हुने वडा न १३ लाई नगद ५० हजार तथा द्धितिय वडा नम्बर १४ लाई नगद ३० हजार सहित मेडल प्रमाण पत्र वितरण गरिएको थियो । नगरप्रमुख लक्ष्मीनरसिं वादेले पुरस्कार हस्तान्तरण गरेका थिए । खेलमा उत्कृष्ट खेलाडी बनेपा १३ का रुकेश श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक सहदेब अवाले, उत्कृष्ट गोलकिपर अमित मानन्धर घोष्णा गरिएको थियो । प्रतियोगिताको समापन गर्दे प्रमुख बादेले नगरका सबै वडाहरुमा खेलको विकास र खेल मार्फत ब्यक्तिको शारिरिक क्षमता अभिबृद्धीका लागि फुटबल पहिलो कार्यक्रम भएको बताए । यस्ता कार्यक्रमहरुमा नगरपालिकाले विशेष प्राथमिकता दिने नगर प्रमुख बादेले बताए । १४ वटा वडाबाट १६ टिम सहभागि रहेका थिए । प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरे, वडा अध्यक्षहरु, वडा सदस्यहरु, खेलसँग सम्वन्धित विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम वडा नं. ५ का वडा अध्यक्ष तथा कार्यक्रमका संयोजक बलराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।