धुलिखेल/क्षेत्रीय होटल संघद्वारा नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ । कोभिड १९ महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको र उक्त क्षेत्रमा ४ अर्ब बैंकको ऋण लगानी भएकोले बैंकको ब्याज तिर्न नसक्ने गरी धराशायी अवस्थामा पुगेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र उधोग तथा वाणिज्य मन्त्रालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओ्लीलाई ज्ञापन पत्र बुझाइएको हो ।
कोभिड–१९ का कारण जिल्लामा सञ्चालित होटल व्यवसायहरु धराशयी बन्दै गएको भन्दै ७ बुँदा सहितको ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा उल्लेख भए अनुसार लकडाउन अवधिभरको बैंकको ब्याज मिनाहा र साँवाको भाका कम्तीमा पनि २ वर्ष थप गर्न वा मिनाहाका लागि आग्रह गरिएको छ साथै सबै होटल ब्यबसायीहरुलाई राष्ट्र बैंकबाट सहुलियत सुबिधा पाउने पुर्नकर्जाको ब्यबस्था गर्ने लगायत कर छुट, घरभाडा छुट र बिद्यूत्त महसुल छुट लगायत माग प्रस्तुत गरिएका छन् । त्यसैगरी आसन्न नीति तथा कार्यक्रम भित्र व्यवसायीहरुका समस्याहरुलाई सम्बोधन गर्नको लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना मार्फत प्रधानमन्त्री समक्ष माग गरिएको छ । क्षेत्रीय होटल संघले विपद्को घडिमा होटल व्यवसायीहरुको समस्याहरु मनन गर्दै के गर्दा सहज स्थिति सिर्जना गर्न सकिन्छ त्यसमा ध्यान दिन अनुरोध गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले र धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सम्बन्धित निकायसम्म व्यवसायीहरुका समस्या पु-याउने तथा नगरबाट सम्बोधन गर्न सकिने समस्याहरुलाई जिल्ला र नगरबाटै समाधान गरिने बताउनु भयो । क्षेत्रीय होटल संघसँग आबद्ध पर्यटन व्यवसायी, उद्यमी लगायत कार्यसमितिको उपस्थितिमा उक्त ज्ञापन पत्र बुझाईएको हो ।





