2026 October 16/ 08:57: 28pm

    धुलिखेल/दशैको लामो विदाको सदुपयोग गर्ने विभिन्न उपायहरु मध्ये स्वास्थ्यका लागि समेत उपयुक्त हाईकिङ हो । विदाको सदुपयोग गर्न तथा अन्य समयमा समेत उपत्यकासँग जोडिएको सहज पहुँच हुने काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थान हाईकिङका लागि उपयुक्त हुन सक्छन् । 
    काठमाडौँ उपत्यका नजिकै रहेको पर्यटकीय गन्तव्य धुलिखेल र यस आसपासका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पदयात्रा (हाइकिङ तथा ट्रेकिङ) रुटहरूलाई समेटेर नयाँ पर्यटकीय प्याकेज निर्माण तथा व्यापक प्रचार–प्रसार सुरु गरिएको छ । ओझेलमा परेका तथा सम्भावना बोकेका पदमार्गहरूलाई व्यवस्थित गर्दै आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको होटल संघ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेलले बताए । पदयात्रा पारखीहरूका लागि धुलिखेललाई केन्द्र बनाएर विभिन्न छोटा तथा मध्यम दूरीका पदमार्गहरू तय गरिएका छन् । 
प्रमुख हाइकिङ तथा पदयात्रा रुटहरू
जिल्ला भित्रका स्थानीय रुटहरु

– धुलिखेल–शंखु–बल्थली ः सुन्तला खेतीका लागि प्रसिद्ध बस्तीहरू, ग्रामीण जीवनशैली र हरियाली अवलोकन गर्दै गरिने एक आकर्षक हाइकिङ रुट । 
– धुलिखेल–नमोबुद्ध ः धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्तै लोकप्रिय हाइकिङ रुट । 
– धुलिखेल–शारदा–पनौती (एकीकरण पदमार्ग÷युनिफिकेसन ट्रेल) ः ऐतिहासिक महत्व बोकेको र नेपालको एकीकरणकालीन पदमार्गको झल्को दिने पर्यटकीय रुट । 
– धुलिखेल–हजार सिँढी–ठूलो बन ः धुलिखेलको भ्यू–पोइन्ट, हजार सिँढी र ठूलो बनको मनोरम वातावरण अनुभव गर्न सकिने छोटो हाइकिङ । 
– बेथानचोक नारायणस्थान ः काभ्रेपलाञ्चोक जिल्लाकै सर्वोच्च शिखर बेथानचोकबाट हिमाल र तराईका मैदानको दृश्य अवलोकन गर्न सकिने रोमान्चक पदमार्ग । 
– सातगाउँ सांस्कृतिक ट्रेल  ः स्थानीय संस्कृति, परम्परा र रैथाने जनजीवनसँग नजिकिने विशेष सांस्कृतिक ट्रेल । 
– धुलिखेल – गोसाईंस्थान – ओपी – अनेकोट ः प्राकृतिक सौन्दर्य र ऐतिहासिक कथा बोकेको स्थानीय ग्रामीण पदमार्ग । 
अन्तर–जिल्ला तथा बृहत् ट्रेकिङ सर्किटहरू 
 धुलिखेललाई अन्य छिमेकी जिल्ला तथा प्रमुख पर्यटकीय स्थलहरूसँग जोड्ने लामो दूरीका आकर्षक ट्रेकिङ सर्किटहरूको समेत प्रवद्र्धन भइरहेको छ ः 
– सुन्दरीजल–चिसापानी–नगरकोट–धुलिखेल–नमोबुद्ध–बल्थली– बेथानचोक सर्किट 
– धुलिखेल – दोलालघाट – कार्तिके देउराली – सैलुङ (रामेछाप) सर्किट 
– नगरकोट – धुलिखेल – नमोबुद्ध – पनौती – फूल्चोकी – गोदावरी महा–ट्रेल
– धुलिखेल – नगरकोट – हिगुवापाटी – हेलम्बु क्षेत्र (सिन्धुपाल्चोक) जोड्ने पदमार्ग
    यी क्षेत्रको प्रवद्र्धन तथा पूर्वाधार विकास गर्न सकिएको अवस्थामा पर्यटकहरुलाई सहजता हुनेछ । यी पदमार्गहरूमा साइनबोर्ड (सूचना पाटी) राख्ने, पदमार्गको नक्सांकन गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने र डिजिटल माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने योजना बनाइएको छ । काठमाडौँ उपत्यकाबाट नजिकै रहेकाले छोटो समयमा पदयात्राको आनन्द लिन चाहने स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि यी रुटहरू उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ ।
    प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ । प्रस्तावित पदमार्गमा धुलिखेल–साँखु–बल्थलीको ओरेन्ज ब्लसम हाइक, धुलिखेल–नमोबुद्ध, धुलिखेल–शारदा–पनौती (एकीकरण पदमार्ग), धुलिखेल–हजार सिँढी–ठूलो वन, बेथानचोक नारायणस्थान, सातगाउँ सांस्कृतिक पदमार्ग तथा धुलिखेल–गोसाइँस्थान–ओपी–अनेकोटलगायतका रुट छोटो अवधीका छन् । यी पदमार्गले पर्यटकलाई प्राकृतिक दृश्यावलोकनसँगै धार्मिक स्थल, ऐतिहासिक सम्पदा, स्थानीय संस्कृति र ग्रामीण पर्यटनको अनुभव दिलाउन सक्ने अपेक्षा गरिएको छ । विभिन्न पर्यटकीय गन्तव्यलाई एउटै यात्रामार्गमा जोड्न सके पर्यटकको बसाइ अवधि बढ्नुका साथै स्थानीय होटल, होमस्टे, यातायात, कृषि तथा हस्तकलासम्बन्धी व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
    ट्रेकिङ तथा हाइकिङ रुटको प्रभावकारी विकासका लागि पदमार्गको पहिचान, आवश्यक पूर्वाधार निर्माण, दिशासूचक चिह्नको व्यवस्था, सुरक्षा तथा सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता छ । साथै स्थानीय समुदायको सहभागितामा प्रचारप्रसार गर्न सके पर्यटनबाट प्राप्त हुने लाभ गाउँस्तरसम्म पु¥याउन सकिनेछ । प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले सम्पन्न काभ्रेपलाञ्चोकलाई पदयात्रा पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न प्रस्तावित रुटको व्यवस्थित निर्माण र बजारीकरण महत्वपूर्ण हुने देखिन्छ ।