बनेपा/जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकमा नयाँ नेतृत्व चयन भएको छ । हिजो बुधबार भएको मतदानबाट अमन पोटेको नेतृत्वमा नयाँ समिति चयन भएको हो । मतदानमा ३ सय ४३ मत खसेको थियो ।
समितिमा उपाध्यक्ष शान्ति लामा तामाङ, महिला उपाध्यक्ष मिरा सत्याल, सचिव प्रकाश बञ्जारा, कोषाध्यक्ष अर्जुनप्रसाद सापकोटा तथा सदस्यहरुमा अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, पूर्णसागर रंजित, मोहनकुमार श्रेष्ठ र रोशनकुमार श्रेष्ठ, निर्वाचित भएका छन् भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा डिल्लीप्रसाद आचार्य र सदस्य पवनराज कर्णजित निर्वाचित भएका छन् । सहकारी संघको अध्यक्ष पदका लागि राजन शाक्य र अमन पोटे श्रेष्ठ बीच प्रतिस्पर्धा भएको थियो । अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी कमला अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि शाक्य र श्रेष्ठबीच मात्रै प्रतिस्पर्धा भएको हो । शाक्य मोडेल बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्छन् भने पोटे बनेपा बचत तथा ऋण सहकारीको प्रतिनिधि हुन् । महिला उपाध्यक्षमा मिरा सत्याल र राधिका दाहाल घिमिरे, उपाध्यक्षमा ठाकुरनाथ अधिकारी र शान्ति लामा तामाङ तथा सचिवमा प्रकाश बन्जारा र यदुनाथ हुमेगाईंबीच प्रतिस्पर्धा भएको थियो । यस्तै कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा र हिमाली श्रेष्ठ तथा ६ जना सञ्चालक सदस्यमा अनन्त सत्याल, अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, पूर्णसागर रंजित, बलराम मानन्धर, मोहनकुमार श्रेष्ठ, रोशनकुमार श्रेष्ठ, लक्ष्मण गौतम, सिद्धीलाल श्रेष्ठ, सुदर्शन अधिकारी, श्यामहरि सापकोटा र शिवप्रसाद ढुंगेल गरी १२ जनाको उम्मेदवारी परेको थियो ।
महिला सञ्चालक चार जना चाहिनेमा देवकी तिमल्सिना दाहाल एक जनाको मात्रै उम्मेदवारी दर्ता भए पछि उनी निर्विरोध भएकी छिन् । यस्तै लेखा सुपरिवेक्षण समितिको महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन । लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशप्रसाद भट्टराई र डिल्लीप्रसाद आचार्यबीच प्रतिस्पर्धा भएको थियो । लेखा सुपरिवेक्षण समितिको सदस्यमा प्रेमनाथ शर्मा कोइराला र पवनराज कर्णजीतबीच प्रतिस्पर्धा भएको थियो । मतदान अघि एक औपचारिक कार्यक्रमका बीच जिल्ला सहकारी संघ काभ्रेको ४३ औं वार्षिक साधारण सभा तथा ५७ औं स्थापना दिवस मनाइएको थियो । कार्यक्रममा पुर्व राज्यमन्त्री एवं वागमती प्रदेशसभा सांसद कञ्चनचन्द्र वादेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्का, जिल्ला सहकारी संघका सल्लाहकार विनोद पराजुली, राष्ट्रिय सहकारी महासंघका सञ्चालक समिति सदस्य सुमन नेपाल, स्थिरीकरण कोषका सञ्चालक समिति सदस्य प्रकाश बञ्जारा, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, बचत संघका अध्यक्ष उदयराम कायस्थ, कृषि संघका अध्यक्ष हरिशचन्द्र घिमिरे, बहुउदेश्यीय संघका अध्यक्ष विधान जोशी र दुग्ध संघका अध्यक्ष नारायण बडाल लगायतको उपस्थिती रहेको थियो ।









