2026 August 22/ 06:18: 33am

    बनेपा/काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त आयोजनामा समुदायमा जेसीज कार्यक्रम २०२४ को शुभारम्भ गरिएको छ । पहिलो कार्यक्रम अन्र्तगत सार्वजनिक यातायातमा चढ्ने यात्रुहरुले जान्नु पर्ने विभिन्न विषयका बारेमा चेतनामुलक सूचना सन्देश सहिटको स्टिकर बसमा टाँसिएको छ । पहिलो चरणमा काभ्रे बस प्राली र काभ्रे पुण्यवती यातायात प्रा.लीका सम्पूर्ण बसहरुमा स्टिकर टाँस गरिने काभ्रे जेसीजका अध्यक्ष रिकेश सैंजुले जानकारी दिए । 
    उद्घाटन कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विकासकुमार तामाङ, काभ्रे बस सेवा प्रालीका अध्यक्ष वर्ण शाक्य, काभ्रे पुण्यवती प्रालीका अध्यक्ष राजेशसुन्दर सैंजु, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजाराम गौतम, काभ्रे लेडी जेसीजका अध्यक्ष सविता बर्जाचार्य, बनेपा जुनियर जेसीजका अध्यक्ष सृष्टि श्रेष्ठ, काभ्रे जेसीजका निर्जन गौतम लगायतले अभियान संचालन गर्दा नागरिकहरुले प्राप्त गर्ने सुविधाका साथै जेसीज, जेसीजका उदेश्य र कार्यहरुका बारेमा धारणा राखेका थिए । जेसीजले सक्रिय प्रोजेक्ट मार्फत उक्त कार्यक्रम शुरु गरेको छ । 
    ‘सार्वजनिक यातायात सुरक्षा सम्वन्धी जनचेतनामुलक कार्यक्रम समुदायमा जेसीज २०२४ अन्र्तगत शुरु गरिएको प्रोजेक्ट सक्रिय मार्फत गरिनेछ’–काभ्रे जेसीजका अध्यक्ष रिकेश सैंजुले भने–‘अभियान अन्र्तगत बस भित्र अपरिचित ब्यत्तिले दिएको खानेकुरा नखाऔं, बसमा यात्रा गर्दा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाईएमा प्रहरीलाई खवर गर्न, सवारी चढ्दा र ओर्लँदा बस पूर्ण रुपमा रोकी सकेपछि अरुलाई नधकेली एकलाईनमा सभ्य भई यात्रा गर्न, यात्रु विद्यार्थीहरुले सक्कली परिचयपत्र देखाई छुट सुविधा लिन, सवारी साधन चढ्दा कुनै पनि मानवीय अंग सवारीबाट बाहिर ननिकाल्न, चालकलाई सुरक्षित तरिकाले सवारी साधन चलाउन प्रेरणा गर्न र तिब्र गतिमा चलाउन नउकास्न, आफ्नो सामानको सुरक्षा आफै गर्न, आरक्षण सिटमा तोकिएको महानुभावले मात्र प्रयोग गर्न, तोकिएको बस स्टप वा बस विसाउने ठाउँबाट सवारीमा चढ्ने र ओर्लने गर्न, आफु नजिकै कुनै घटना भएमा, महिला माथी दुब्र्यवहार गरेको देखेमा, गाडीको गति तोकिएको भन्दा तिब्र र असुरक्षित महसुस भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीका सम्पर्क नम्वरहरु, दमकल, एम्बुलेन्स, ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालय, काभ्रे बस प्राली, काभ्रे पुण्यवती प्राली लगायतमा खवर गर्न अनुरोध सहितका स्टिकर बसहरुमा टाँसेका छौं ।’