धुलिखेल/‘स्माइल’ दुई युवाले धुलिखेलको मुख्य चोक अरनिको र विपी राजमार्गको संगममा ‘स्माइल’ क्याफे संचालनमा ल्याएको डेढ वर्ष पुरा भएको छ । युवाहरु दैनिक विदेशिने क्रम बढिरहेको छ । युवाहरुको पलायनता बढिरहँदा यि दुई युवा हरेक दिन स्माइलका साथ क्याफे सचालन गरिरहेका छन् । दुई युवालाई थप एक युवाले भान्सामा सहयोग गरिरहेका छन् ।
राजाराम रायमाझी २५ वर्ष र राजकुमार थापा २२ वर्ष । नमोबुद्ध नगरपालिका वडा नम्वर १० सिम्ले । दुई जनाको सम्वन्ध मामा र फुपुका छोरा । घर पनि सँगै । अध्ययन सँगै तर विषय फरक फरक । दुबैजनासँग फरक फरक कामको अनुभव तर उदेश्य एउटै । स्वदेशमा केहि गर्न सकिन्छ भने विदेशिनु किन ? कठिन छ । श्रमको सम्मान छैन । श्रमलाई हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा युवाहरु अध्ययन गरेर कार्य गर्न लजाउने प्रवृत्ति छ । ‘काम गरेर आत्मनिर्भर हुनु पर्छ भन्ने सोचलाई राज्य र समाजले सम्मान गरेन’–राजाराम रायमाझिले भने–‘कामको सम्मान नहुने भए पछि युवाहरु अध्ययन गरेर काम गर्न भन्दा जागिर खोज्न र नपाउँदा विदेशिन बाध्य भए ।’ विदेशमा जे काम गर्दा पनि सम्मान हुने, सुरक्षा र ब्यवसायको समेत ग्यारेन्टी हुने तथा राज्यले नागरिक प्रतिको उत्तरदायित्व बहन गर्ने भएकाले भविश्य सुरक्षित गर्ने सोच युवाहरुमा विकास हुँदै जान थालेको युवा राजकुमार थापाले बताए । ‘विदेशमा जानै हुँदैन भन्ने छैन र होईन पनि तर त्यहाँ नै जीवन विताउने सोच राख्ने कि ? श्रम र सिप सिकेर स्वदेश फर्केर काम गर्ने वातावरण राज्यले निर्माण गरिदिने ? यो प्रश्न गम्भिर बन्दै गएको छ’–उनिहरु दुबैले भने–‘केहि गरौ, युवाहरुलाई स्वदेशमा नै रोकौ । सम्भावना नै सम्भावना छ । अवसरलाई उपयोग गरौ । अवसर लिन र उपभोग गर्न युवाहरुले मेहनत र इमान्दार बन्ने प्रयन्न गरौ ।’ रायमाझी र थापालाई सहयोग गर्ने अर्का युवा छन् राजन लामा । उनले भान्सामा बसेर सहयोग गरिरहेका छन् ।
स्माइल क्याफेमा दुई युवाको तर्फबाट १८ लाख लगानी भएको छ । दैनिक ५० भन्दा धेरै कप कफी विक्री हुन्छ । कफीका अलावा चिकेन विङसका विभिन्न परिकारहरु, वर्गर, थुक्पा, चाउमिन, मम, तास, स्यान्डविज लगायतका खाजाहरु पनि उपलब्ध छन् । दुबै जना वेटर र किचनमा पोख्त छन् । कफी तयार गर्न पनि दुबैमा सीप छ । दैनिक विहान ६ बजे देखि राति ९ बजेसम्म निरन्तर उत्तिक्कै सक्रियताका साथ क्याफेमा ब्यस्त हुन्छन् । त्यहि उमेर समुहका युवाहरु बेरोजगार भएर रोजगार खोज्न भौतारिरहेका छन् । क्याफेमा आउने युवाहरु पनि रोजगार नभएको, अवसर नपाएको जस्ता विरक्त लाग्ने कुराकानी गरिरहेका हुन्छन् । तर तिनै दुई युवाहरुको सक्रियताबाट पाठ सिक्ने प्रण गर्दैनन । दुबै जना अध्ययन पनि गरिरहेका छन् । अध्ययन र पढाईलाई सँगसँगै लगिरहेका युवाहरुले संचालन गरेको क्याफे घाटामा छैन । पर्याप्त नाफा नभए पनि चित्त बुझ्दो छ ।
राजकुमार थापाले कक्षा १० सम्मको अध्ययन बाल उज्जवल मावीमा गरे । २०७२ सालको एसएलसी सकेर उनी ल्याब्रोटरी स्कुलमा +२ मा कम्प्युटर साईन्स अध्ययन गरे । ब्याचलर तहमा शंकरदेव क्याम्पसमा विविएस अध्ययन गरिरहेका छन् । काठमाडौ बसेर +२ अध्ययन गर्दा केहि समय जुत्ताको शो रुममा काम गरे । त्यहाँ ग्राहकसँगको सम्वन्ध र बोलिचाली तथा ब्यवहार सिके । केहि समय काठमाडौमा होटलमा हेल्परको काम गरे । पछि सिन्धुलीमा खुलेको स्माईल होटलमा कुकको समेत काम गरे । हेल्पर हुँदै कुकको काम गरे पछि उनलाई क्याफे संचालनको थप साहस जुट्यो । ४ दिदी पछिको एक मात्रै छोरा राजकुमार । लक्ष्य आईटी । अध्ययन र ब्यवासाय फरक भए पनि जिम्मेवारी पुरा गर्ने प्रण र दायित्व ।
राजाराम रायमाझीले ज्ञानोदय बोर्डिङ्ग स्कुलमा कक्षा ६ सम्म अध्ययन गरे । बनेपाको इनोभेटिभ स्कुलमा कक्षा १० सम्म अध्ययन गरे । २०७२ सालमा एसएलसी उर्तिण पछि २०७३ सालमा +२ अध्ययन गर्न निष्ट कलेजमा विविएस अध्ययन गर्न भर्ना भए । अहिले शंकरदेव क्याम्पसमा विजनेस स्टडी अध्ययन गरिरहेका छन् । बनेपाको धनेश्वरमा पनि उनको घर छ । तर राजकुमार र राजाराम दुबै जना धुलिखेलमा बस्दै आएका छन् । राजारामले शुरुमा जापान जाने प्रयास गरे । त्यहाँ असफल भए पछि काठमाडौको दियालो रेस्टुरेन्टमा वेटरको काम गरे । ५ महिनाको अनुभव पछि नक्सालको एक होटलमा एक वर्ष काम गरे । केहि समय यामाहा कर्पाेरेट अफिसमा मार्केटिङ्गको काम गरे । राजकुमारको वेटर र किचनको अनुभव, राजारामको वेटर र मार्केटिङ्गको अनुभवले धुलिखेलमा विक्रीमा राखिएको क्याफे किन्ने निर्णय गरे । सिन्धुलीमा भएका राजकुमारलाई बोलाएर राजाराम काठमाडौबाट धुलिखेल आए । २०७९ माघ ११ गते क्याफे किनेर संचालनमा ल्याए ।
क्याफे संचालनमा ल्याए पनि कफी बनाउन दुबैमा सिप थिएन । तत्काल राजारामले बनेपामा एक महिनाको कक्षा लिए । राजारामले कफी तालिम लिए पछि दुबैले निरन्तर कफी बनाउन शुरु गरे । स्वाद र आनन्दका लागि कफी खाँदा मानसिक र शारिरिक उर्जा समेत बढ्ने भएकाले पछिल्लो समय युवा पुस्ता र ब्यस्त जीवन विताउनेहरु पनि मेशिनको कफीमा रुची बढाउन थालेका छन् । थोरै लगानीमा मजदुर र मालिक दुबै हुन पाउन यस्तो ब्यवसायमा राज्यको सहुलियत वातावरण बन्न सके युवाहरुको पलायनतामा कमी ल्याउन सकिन्थ्यो कि ? राजाराम र राजकुमारको स्माइल क्याफे । स्माइल क्याफेका स्माइल युवा र स्माइल स्वादका लागि धुलिखेल बसपार्क पछिल्लो समय आर्कषक र उदाहरणीय बन्दै गएको छ ।









