2026 August 22/ 08:11: 05am

    धुलिखेल/बैदेशिक रोजगारका लागि विभिन्न मुलुक पुगेका नेपालीहरुले कामको सिलसिलामा ज्यान गुमाउने क्रम बढेको छ । अदक्ष कामदार, दुर्घटना लगायतबाट नेपालीहरुको निधन कामकै सिलसिलामा हुने गरेको छ । सञ्चो भएको खबर सुन्न आतुर परिवारका सदस्यहरुले शवको सूचना पाउने गरेका छन् । 
    आर्थिक वर्ष २०८०/०८१ मा काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयमा बैदेशिक कामको सिलसिलामा निधन हुनेहरुका नाममा क्षतिपूर्ति तथा विमा बापत ४१ लाख २९ हजार ५ सय ३ रुपैयाँ भुक्तानी भएको छ । ८९ लाख ८६ हजार १ सय ८८ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा भएर बसेको रकम सम्बन्धित परिवारका सदस्यहरु सम्पर्कमा नआएका कारण भुक्तानी हुन नसकेको हो । कामको सिलसिलामा कार्य दुर्घटनामा भवितब्य परेर निधन भएका ब्यक्तिका आफन्त वा परिवारले क्षतिपूर्ति पाउने ब्यवस्था विभिन्न मुलुकले गरेका छन् । नेपाली राजदूतावास रियाद साउदी अरबका प्रथम सचिव टिकाराम उपाध्यायले साउदी अरबमा सोहि देशको कानून नमान्दा करिब ८÷९ सय ब्यक्ति जेलमा रहेको बताए । सिक्नु पर्ने विषय धेरै भएकाले बुझेर, जानेर कार्यमा सक्रिय हुन उनले सुझाव दिए । पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्लाका ज्ञानबहादुर पाख्रिन र रामकाजी बरुवालको निधन भएकाले उनिहरुको आफन्त सम्पर्कमा आउन अपिल गरिएको छ । पाख्रिन सन् २०१३ मा साउदी पुगेका थिए । उनको २०७१ सालमा निधन भएको थियो । बरुवाल सन् २००९ मा विदेश पुगेका थिए । उनको २०६९ सालमा निधन भएको थियो ।
    काभ्रेपलाञ्चोक जिल्लामा रोशी गाउँपालिका वडा नम्वर ३ घर भएकी मेघमाया तामाङको निधन भएको थियो । युएईमा उनको निधन भए पछि छोराका नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ६९ लाख २० हजार ७ सय रुपैयाँ आएर जम्मा भएको छ । उनी अझै प्रशासनमा सम्पर्कमा पुगेका छै्रनन् । त्यस्तै साविक बोल्देफेदिचे गाविस ९ का श्यामबहादुर तामाङको नाममा ७ लाख ५ हजार ५ सय ९ रुपैयाँ प्राप्त भएको छ । पाँचखालका दिनेशप्रसाद ढुंगानाको निधन पछि उनको श्रीमती रेणु तामाङ ढुंगानाले ३ लाख ८० हजार ५ सय १० रुपैयाँ प्राप्त गरेकी छिन् । त्यस्तै मथुरापाटी फुलबारी घर भएका सिताराम तामाङको निधन पछि आमा राममाया तामाङले १ लाख ५७ हजार २ सय ६४ रुपैयाँ प्राप्त गरेकी छिन् । पनौती २ ग्रैहीगाउँका कृष्ण तामाङको निधन पछि श्रीमती राधिका तामाङले ५३ हजार ५ सय ५३ रुपैया प्राप्त गर्नु भयो । बनेपा २ टुुकचाका गोकर्ण घिमिरेको निधन पछि उनका दुई श्रीमती कमला र दुर्गा घिमिरेले संयुक्त रुपमा ३७ लाख ३८ हजार १ सय ८५ रुपैयाँ प्राप्त गरेका छन् । विभिन्न मुलुकमा बैदेशिक रोजगारका लागि गएका नेपाली कामदारहरुले सुरक्षाका लागि अपनाउनु पर्ने विषय तथा कार्य दुर्घटनामा परी मृत्यु भएका अवस्थामा प्राप्त हुने सामाजिक सुरक्षा बीमा लगायतका विषयमा ख्याल पु¥याउन दुतावासहरुले अनुरोध गरेका छन् ।